कोशीको अटोमेटिक पिसिआर मेसिन सञ्चालन

विराटनगर । चन्दा संकलन गरेर खरिद गरेको अटोमेटिक पिसिआर मेसिन विराटनगरस्थित कोशी अस्पतालमा १६ दिनपछि सञ्चालनमा आएको छ ।

कोरोना भाइरस नियन्त्रणको लागि परीक्षण दर बढाउन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीको सक्रियतामा चन्दा संकलन गरेर खरिद गरेको आरएनए एक्स्ट्राक्सन मेसिन आइतबारदेखि सञ्चालनमा आएको हो ।

दाताहरुको सहयोगमा अस्पताललाई दिएको दुईवटा पिसिआर मेसिनमध्ये आरएनए एक्स्ट्राक्सन मेसिन पनि अब सञ्चालनमा आएको कोशी अस्तपालका मेडिकल सुपरिटेन्टडेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । गत भदौ २६ गते अस्पताललाई हस्तान्तरण गरिएको अटोमेटिक पिसिआर मेसिन किट अभाबमा सञ्चालनमा आउन सकेको थिएन ।

‘अटोमेटिकल पिसिआर मेसिनको लागि छुट्टै किट आवश्यक पर्दछ,’ मेसु दासले भन्नुभयो, ‘आरएनए एक्स्ट्राक्सन मेसिनको लागि १ हजार थान किट आएपछि परीक्षण गर्न सुरू भएको छ ।’ आरएनए एक्स्ट्राक्सन मेसिन सञ्चालनमा आएपछि स्वाब संकलन गरेकै पिसिआर रिपोर्ट दिनसक्ने अवस्थामा ल्याब रहेको कोशी अस्पतालले जनाएको छ ।

‘प्रराम्भिक चरणमा आरएनए एक्स्ट्राक्सन पीसिआर मेसिनको लागि किट थोरै परिमाणमा आएको छ,’ दासले भन्नुभयो, ‘अस्पतालका कर्मचारी किट लिन काठमाण्डौं गएका छन् । किट आएपछि परीक्षण दर बढ्नेछ ।’ विराटनगरमा करिब ६३ लाख रुपैयाँ चन्दा संकलन गरेर दुई वटा पिसिआर मेसिन खरिद गरिएको थियो ।

चन्दा उठाएर ३१ लाख रुपैयाँमा खरिद गरिएको पहिलो मेसिन भने पहिलेदेखि नै सञ्चालनमा छ । त्यो सहित अर्को दुई मेसिनबाट कोशीमा पिसिआर परीक्षण भइरहेकोमा अब तीन वटाबाट परीक्षण हुनेछ । अटोमेटिक पिसिआर मेसिनले घण्टामा ९६ वटा स्वाबको नमुना परीक्षण गर्ने बताइएको छ ।

मेसिन प्राप्त गरेपछि अस्पतालले दैनिक १ हजार ५ सयसम्म स्वाब परीक्षण गर्न सकिने अवस्था बनेको बताएको थियो ।

सोमबार, १२ असोज, २०७७, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर