विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को मापदण्ड पुरा नगर्ने एक दर्जन सवारी साधन मोरङ ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

सुरक्षा सावधानी नअपनाइकन यात्रु बोकेर सवारी साधन सञ्चालन गरेको पाइएपछि आइतबार एक दर्जन सवारी साधनलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक राकेश पोदारले जानकारी दिनुभयो ।

सुरक्षा सावधानी अपनाएर मात्र असोज १ गतेदेखि यात्रुबाहक सवारी साधन सञ्चालन गर्ने अनुमति सरकारले दिएको छ । तर, विराटनगर बसपार्कबाट छुट्ने छोटो दुरीको यात्रुबाहक सवारी साधनले सुरक्षा मापदण्ड पुरा नगरि सञ्चालन गरेको पाइएपछि कारबाहीको दायरमा ल्याएको प्रहरी निरीक्षक पोदारले बताउनुभयो ।

सार्वजनिक सवारी साधन सञ्चालन गर्ने मापदण्डमा यात्रुबहाक सवारीमा एउटा सिटमा एक जना मा राख्नुपर्ने, माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने, सेनिटाइजर राख्नुपर्ने र ५० प्रतिशतभन्दा बढी भाडा लिन नपाउने मापदण्ड बनाईएको छ । आइतबार चेकपोस्टमा रोकेर गरिएको अनुगमनको क्रममा एक दर्जन सावारी साधनले मापदण्ड पुरा गरेको नभेटिएपछि कारवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।