धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिकाको स्थानीय रञ्जीत राईले बलात्कारको प्रयासपछि हत्या गरेको खुलेको छ। शुक्रबार राति घरमै मृत फेला परेकी बालिका मिना राईलाई बलात्कार प्रयासपछि हत्या भएको प्रहरीले जनाएको छ ।
बलात्कारको प्रयास गर्दा प्रतिकार गरेपछि रञ्जितले मिनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सुनसरी प्रहरीको भनाइ छ । छिमेकीको घरमा धामी बसेको हेर्न आमाबुबासँगै गएकी बालिका निन्द्रा लागेपछि सुत्न एक्लै घर फर्किएकी थिइन् ।
बालिकाको घरमा पसल रहेकोले आरोपी रञ्जित ११ बजे टर्चको ब्याट्री खरिद गर्न पुगेको अनुसन्धाबाट खुलेको छ । पसल बन्द रहेकोमा बालिका घरभित्र एक्लै रहेको देखेपछि मदिरा सेवन गरेका उनले बलात्कार प्रयास गरेको खुलेको छ । त्यसक्रममा बालिकाले प्रतिकार गर्दैै उनको हातमा टोकेपछि बियरको बोत्तलले टाउँकोमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । रञ्जितको हातमा मिनाले टोकेको चोट भेटिएको पनि रहेको छ ।
घटनापछि धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको तालिमप्राप्त कुकुर लगेर अनुसन्धान गर्दा कुकुर घटनास्थलदेखि रञ्जितको घरसम्म पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । बालिका र रञ्जित छिमेकी मात्र नभएर नाताले मामा–भान्जी पनि रहेको बताइएको छ ।
एक महिनाअघि गाउँमा ट्याक्टर चलाउँदा मान्छे किचेर फरार भएका रञ्जित केही दिनअघि मात्र गाउँमा आएका थिए । प्रहरीले घटनाको अनुसन्धानको लागि रञ्जितसहित अन्य ७ जनालाई पनि नियन्त्रणमा लिएकोमा उनीहरुलाई छाडेको छ ।
बालिकाको हत्यामा राईको संलग्नता पुष्टि भइसकेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो । हत्या हुनु केही घण्टाअघि रञ्जितसँग रहेका युवाहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार शुक्रबार राति मिना घर आएपछि ढोकाको ताला नखोली झ्यालबाट छिरेर तल्लो तलाको खाटमा सुतेकी थिइन् । मिना सुतेको देखेपछि रञ्जित पनि सोही झ्यालबाट छिरेर जबरजस्ती गर्न खोजेका थिए।