मनमायाँलाई ७३ वर्षमा नागरिकता

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–२ डुम्रेकी मनमाया थापा मगरले ७३ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ ।

कपाल सतै फुलेर अनुहार चाउरी भइसक्दा पनि वृद्धाले नागरिकता नपाएको समचार हाम्रोमतसहित सञ्चारमाध्यमहरुमा आएपछि उर्लाबारी २ का वडाअध्यक्ष राजनकुमार कँडेलको पहलमा वृद्धाले नागरिकता प्राप्त गर्नुभएको हो ।

वृद्धा उमेरमा नागरिकता पाएपछि उनी हर्षित छन् । ‘वर्षौदेखिको सपना अहिले आएर साकार भयो,’ नागरिकता पाएपछि टेलिफोन सम्र्पकमा मनमायाले भन्नुभयो, ‘वृद्धा उमेरमा राज्यले पहिचान गराइदिएको छ । मर्ने बेलामा नागरिता पाएर मर्ने इच्छा थियो । त्यो इच्छा अहिले आएर पूरा भयो ।’ उहाँले नागरिकता बनाउन पहल गरिदिने सबैलाई धन्यवाद दिनुभयो ।

नागरिकता बनाउन प्रशासन कार्यालयमा धेरै पटक धाएपछि बसाइसराइ नभएको र माइती पक्षको आफन्तको नागरिकता नभएको भन्दै नागरिकताबाट बञ्चित गरिएको थियो । विगतमा पाएको दुःखेसो सुनाउँदै उहाँले भन्निुभयो, ‘अहिले स्थानिय सरकार भएको अनुभति भयो । यो अवस्था भएर नागरिता पाए । साह्रै खुसी भएको छु ।’

मनमाया ७७ वर्षीय श्रीमान पदमबहादुर मगर र जेठी छोरीको साथमा बसोवास गर्दै आउनुभएको छ । आर्थिक अवस्था नाजुक रहेको वृद्धा दम्पतीलाई नागरिकता पाएपछि राज्यले दिने वृद्धभत्ताबाट गुजारा चलाउन र औषधी उपचारमा केही सहज हुनेछ ।

उर्लाबारी नगरपालिका २ का वडाअध्यक्ष कँडेलले आफ्नो वडाभित्र बसोवास गर्ने कोही पनि नागरिकलाई नागरिकताबिहीन हुन नदिने बताउनुभयो । उहाँले यसअघि पनि वडाभित्रका एक जना वृद्धाको नागरिकता दिलाइदिएको जानकारी दिनुभयो । ‘नेपालमै जन्मेर पनि राज्यले प्रदान गर्दै आएको सेवा सुविधाबाट वडाभित्रका कसैलाई पनि बन्चित हुन दिने छैन,’ वडाअध्यक्ष कँडेलले भन्नुभयो, ‘स्थानीय सरकार भएको जनतालाई अनुभुति दिलाउन यसरी सधैभरी लागि पर्नेछु ।’

आइतबार, ११ असोज, २०७७, बिहानको १०:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर