लकडाउनमा ६ अर्ब १४ करोडको निकासी

विराटनगरबाट हुने निर्यातमा सबैभन्दा ठूलो हिस्सा पामतेल र भटमास तेलको

विराटनगर । संघीय सरकारले जारी गरेको १ सय २१ दिने लकडाउन अवधिमा विराटनगर भन्सारबाट ६ अर्ब १४ करोड रुपैयाँ मुल्य बराबरको नेपाली उत्पादन भारत निकासी भएको छ ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म जारी गरेको लकडाउन अवधिमा सो बराबरको उत्पादन भारत निकासी भएको हो । विराटनगर भन्सारबाट प्रशोधित पाम तेल, सेन्थेटिक यार्न, भटमासको तेल, जुटको कपडा, जि.आई.वायर, सनपाटको धागो, फलामे पाता, खयर कत्था र चाउचाउ तथा नुडल्स लगायतका ९० बढी नेपाली उत्पादनहरु भारत निकासी भएका छन । लकडाउन अवधिमा मात्रै निकासी भएका नेपाली उत्पादनहरुको कुल मुल्य ६ अर्ब १४ करोड १ लाख ४६ हजार ६ सय ५ रुपैयाँ रहेको छ ।

जसमध्ये चैत्रमा ८९ करोड ६ लाख, वैशाखमा १ अर्ब ३२ करोड ८५ लाख, जेठमा २ अर्ब ४ करोड ४५ लाख, असारमा २ अर्ब ६७ करोड ७३ लाख रुपैयाँ मुल्य बराबरको विभिन्न उत्पादनहरु निकासी भएको विराटनगर भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका अनुसार आर्थिक बर्ष २०७६÷७७ मा विराटनगर भन्सारबाट कुल २८ अर्ब ५१ करोड ३१ लाख २० हजार ६ सय ७९ रुपैयाँ मुल्यको सामान निकासी भएको छ ।

निकासी भएका उत्पादनहरुमा सबैभन्दा धेरै पामतेल छ । आ.ब.०७६÷०७७ मा ६ अर्ब ७६ करोड मुल्य बराबरको ६४ हजार १ सय ४० मेट्रिक टन प्रशोधित पाम तेल, ४ अर्ब ४७ करोड मुल्य बराबरको १७ हजार ६ सय २१ मेट्रिक टन सेन्थेटिक यार्न, ४ अर्ब २६ करोड मुल्य बराबरको ३१ हजार ४ सय २३ मेट्रिक टन भटमासको प्रशोधित तेल र ३ अर्ब १७ करोड मुल्य बराबरको ८ करोड ३१ लाख मिटर जुटको कपडा निकासी भएको छ । यस्तै सो आ.ब. मा २ अर्ब १२ करोड मुल्य बराबरको २ करोड १५ लाख युनिट जुटको बोरा तथा झोला र ७७ करोड ६३ लाख मुल्य बराबरको ५ हजार ५ सय ९० मेट्रिक टन चाउचाउ, नुडल्स तथा पास्ता लगायत उत्पादनहरु पनि निकासी भएको विराटनगर भन्सार कार्यालयकी सुचना अधिकारी सुनिता पौडेलको भनाई छ ।

पौडेलका अनुसार सो अवधिमा ७४ करोड २६ लाख मुल्य बराबरको २१ हजार २ सय ८३ मेट्रिक टन पिना, ६१ करोड २२ लाख मुल्य बराबरको ७ हजार ४ सय ७६ मेट्रिकटन जी.आई.वायर, ४९ करोड ६१ लाख मुल्य बराबरको ७ सय ९८ मेट्रिक टन तामाको सिट, चादर र स्टीप तथा ४९ करोड ४२ लाख मुल्य बराबरको १ हजार ४ सय ५४ मेट्रिक टन चिया समेत भारत निकासी भएको छ । यसैगरी ३५ करोड २१ लाख मुल्य बराबरको ३ हजार ४ सय ६१ मेट्रिक टन सनपाटको धागो र ३३ करोड ५० लाख मुल्य बराबरको ४ लाख ७३ हजार युनिट तयारी कपडा पनि भारत निकासी भएको जनार्ईएको छ ।

यस्तै आ.ब ०७६÷७७ मा २८ करोड ३६ लाख मुल्य बराबरको ३ हजार ९५ मेट्रिक टन कोरुगोरेटेड सीट जस्तापाता, २७ करोड २९ लाख मुल्य बराबरको २ हजार ४ सय ९९ मेट्रिक टन फलामे पाता, १७ करोड २७ लाख मुल्य बराबरको १ सय ८४ मेट्रिक टन खयर कत्था, १० करोड ५९ लाख मुल्य बराबरको २ हजार ५ सय ९३ मेट्रिक टन अमिस्रो र ७ करोड ३४ लाख मुल्य बराबरको ३ लाख ३२ हजार मिटर स्क्वायर सेन्थेटिक कार्पेट लगायतका अन्य उत्पादनहरु पनि भारत निर्यात भएको छ ।

साउन ६ गतेदेखि सरकारले देशव्यापी रुपमा जारी गरिएको लकडाउन अन्त्य भएको घोषणा गरेसँगै चालु आर्थिक बर्षको २ महिनाको अवधिमा पनि कुल ५ अर्ब २१ करोड ४८ लाख मुल्य बराबरको विभिन्न उत्पादनहरु भारत निकासी भएको भन्सार कार्यालयले जनाएको छ । साउन र भदौमा १२ हजार २ सय ५३ मेट्रिक टन भटमासको तेल, ४ हजार ३२ मेट्रिक टन सेन्थेटिक यार्न, ३ हजार १ सय १४ मेट्रिक टन जुटको बोरा तथा झोला र २ हजार मेट्रिक टन चाउचाउ, नुडल्स तथा पास्ता लगायतका उत्पादनहरु निकासी भएको भन्सार कार्यालयको तथ्याङकले प्रष्ट पारेको छ ।

अघिल्लो आ.ब.को सोही अवधिमा भने विराटनगर भन्सारबाट ५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ मुल्य बराबरको नेपाली उत्पादनहरु भारत निकासी भएको थियो ।

आइतबार, ११ असोज, २०७७, बिहानको ०८:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर