विराटनगर । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकाभित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ ।

हिँडडुल गर्न नसक्ने र दिर्घरोगीहरूको उपचारमा समस्या हुन थालेपछि कोरोना परीक्षणको लागि शंकास्पद व्यक्तिहरूको घरमा पुगेर विराटनगर महानगरपालिकाको स्वास्थ्यकर्मीहरूको टिमले स्वाब संकलन गर्न थालेको हो ।

महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की नेतृत्वको टिमले कोरोना परीक्षणको लागि वृद्धा र अशक्तहरूको स्वाब संकलन गर्न थालेको छ । शनिबार १६ जना ज्येष्ठ नागरिक र अशक्तहरूको स्वाब संकलन गरि परीक्षण गर्न प्रदेश जनस्वास्थ्य ल्याबमा पठाएको कार्कीले जानकारी दिनुभयो ।

‘कन्टयाक ट्रेसिङ र हिँडडुलमा समस्या हुने जेष्ठ नागरिकहरूको अहिले महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन लिन सुरू गरेको छ,’ कार्कीले भन्नुयभो, ‘आवश्यकता अनुसार यो क्रममा विराटनगरका सबै वडाभित्र सञ्चालन गरिनेछ ।’ आइतबार विराटनगर ३ र १० नम्बर वडामा रहेको मानव सेवा आश्रमका जेष्ठ नागरिकहरूको स्वाब लिने तयारी छ ।

मानव सेवा आश्रमका तीन जना जेष्ठ नागरिकलाई संक्रमण पुष्टि भइसकेको छ । उनीहरूको कन्ट्याक ट्रेसिङ र आश्रममा रहेका सबै जेष्ठ नागरिकको स्वाब संकलन गरि परीक्षण गर्ने महानगरपालिकाको तयारी गरेको छ । आश्रममा ७६ जना जेष्ठ नागरिक छन् ।

अहिले विरामी भएर अस्पताल जानेहरूलाई उपचार गर्नुभन्दा अगाडि पिसिआर रिपोट माग्ने गरेका छन् । ज्येष्ठ नागरिक, दिर्घरोगी र अशक्तहरूलाई स्वाब दिन विराटनगर स्थित जैन भवनसम्म पुग्न असहज हुने गर्दछ । उनीहरूको लागि महानगरपालिकाले घरमा पुगेर स्वाब संकलन गर्न थालेका हुन् । संकलन भएको स्वाब ‘इरिक्सा मोवाइल भेन’ मा राखेर ल्याबमा पठाइन्छ ।

अहिले महानगरपालिकाले स्वाब संकलन गर्ने जैन भवनमा मेडिकल अधिकृतको नेतृत्वमा दुई टिम बनाएको छ । एउटा टिमले दुई साता स्वाब संकल गरि परीक्षणमा पठाएपछि त्यो टिम क्वारेन्टाइनमा बस्छ भने अर्को टिमले काम गर्छ ।

शुक्रबारसम्म विराटनगर महानगरपालिकाभित्र १ हजार ५ ८४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५ ८४ जना निको भएर डिस्चार्ज भएको महानगरपालिकाले जनाएको छ ।