विर्तामोड । झापा कारागारमा ७ जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अन्य कैदिबन्दीमा त्रास फैलिएको छ ।
क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौं जनामा कोभिडको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको छ ।
गत साता काठमाडौं लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार थप ७ जनामा कोरोना पुष्टि भएपछि अन्य कैदिबन्दी त्रसित छन् । संक्रमितको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ ।
कारागारका ७ कैदीबन्दी, एक भान्से र दुई प्रहरी कर्मचारीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मेची अस्पतालमा गरिएको स्वाब परीक्षणमा ३४, ३६, २८, ७५, २२, ६०, ३२, ३९, २५ र ६० वर्षका कैदी बन्दी र प्रहरी रहेको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनुभयो ।
कोभिडको जस्तै लक्षण भएका बिरामीको संख्या दिनहुँ बढिरहेको झापा कारागारका चौकिदार मोहन धितालले जानकारी दिनुभयो । ३५० जनाको क्षमता भएको कारागारमा हाल ८२ महिला र १ हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका छन् ।
कारागारमा कैदिबन्दीको चाप रहेकोले पाले गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको छ । कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको चौकीदार धितालको गुनसो छ । कारागारभित्र साबुनपानी तथा स्यानिटाइजरको उपलब्धता पनि नभएको कैदिबन्दीको भनाइ छ ।
झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको स्वासप्रस्वास (दम)का १००, टिबीका २०, किड्नीका ८, मुटुका १२ , मानसिक बिरामी ३५, एचआइभीका ४, मधुमेहका ३० र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन् ।
कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको झापा कारागारका प्रमुख राजेन्द्र गौतमले जानकार िदिनुभयो । सङ्क्रमितको संख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेकोे उहाँको भनाइ छ ।