सप्तरी । कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा भदौ २५ गते संक्रमण पुष्टि भए पनि परिवारका अन्य सदस्यको रिपोर्ट नेगेटिभ आएको उहाँका छोराले बताउनुभयो । रक्तचापका बिरामी उनको अवस्था गम्भीर भएपछि १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो । उहाँको शव अहिले धरानमै छ ।
उहाँका जुम्ल्याहा दाजुको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि धरान लैजाँदैगर्दा गत भदौ १३ गते बाटोमा नै मृत्यु भएको थियो । दाजुको पिसिआर परीक्षण भने गरिएको थिएन । यससँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय शुक्रबारदेखि एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाले आज सूचना जारी गरी आजदेखि यही असोज १५ गतेसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ ।