विराटनगर । केहीदिन यता जारी निरन्तर बर्षाका कारण गाउँ र शहरका विभिन्न भाग सहित नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्र पनि डुबानमा परेको छ ।
पानीका उचित निकासको अभावमा विद्युत प्राधिकरणको वितरण केन्द्र डुबानमा परको हो । भारी बर्षाका कारण कार्यालय परिसरसहित कार्यकक्षमा समेत २ फिटसम्म पानी जमेको छ । जसले गर्दा दैनिक सेवा प्रवाह समेत अवरुद्ध भएको छ । ६ लेन सडक निमार्णको क्रममा पानीको निकासको उचित प्रबन्ध नमिलाउँदा प्राधिकरण हरेक बर्ष डुबानमा पर्ने गरेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहले बताउनुभयो ।
बर्षायाममा हरेक बर्ष विराटनगरका ग्रामीण भेगका साथसाथै शहरी भेगका विभिन्न क्षेत्रहरु आंशिक डुबानमा पर्ने गरेका छन् । शहरी भेगमा भने बिशेष गरि ड्रेनबाट पानी निकास नहुँदा घर तथा कार्यालयभित्र बर्षाको पानी पस्ने गरेको छ । बर्षायाममा प्लास्टिक तथा फोहोरमैलाहरुका कारण ड्रेन जाम हुने गरेकाले मात्रै बर्षाको पानी ओभरफ्लो भई घर तथा कार्यालयभित्र पस्ने गरेको रानी–विराटनगर–ईटहरी–धरान ६ लेन सडकखण्डका योजना प्रमुख बद्री शर्माले बताउनुभयो । उहाँले ठाउँठाउँमा पानी पसेको जानकारी आए लगत्तै ब्लक भएका ड्रेनहरु खोल्ने काम भईरहेको जानकारी दिनुभयो । ड्रेेन निमार्णमा कुनै प्राविद्यिक समस्या नरहेको उहाँको दाबी छ ।
विराटनगर महानगरपालिकाभित्र भने करिब २ हजार बढी घरपरिवार बाढीको उच्च जोखिममा रहेका छन ।