विराटनगर । कोरोना भाइरस नियन्त्रणको लागि परीक्षण दर बढाउन विराटनगर महानगरपालिकाको सक्रियतामा चन्दा संकलन गरेर खरिद गरि कोशी अस्पताललाई हस्तान्तरण गरिएको पिसिआर मेसिन अझै सञ्चालनमा आएको छैन ।
दाताहरुको सहयोगमा विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई दिएको दुईवटा पिसिआर मेसिनमध्ये आरएनए एक्स्ट्राक्सन मेसिन सञ्चालनमा नआएको हो ।
गत माघ २६ गते अस्पताललाई हस्तान्तरण गरिएको अटोमेटिक पिसिआर मेसिन आवश्यक परीक्षण सामाग्रीको अभावमा सञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । विराटनगर महानगरपालिकाले नीजि क्षेत्रका व्यवसायीसँगको साझेदारीमा करिब ६३ लाख रुपैयाँमा संकलन गरेर दुई वटा पिसिआर मेसिन खरिद गरेको थियो ।
चन्दा उठाएर ३१ लाख रुपैयाँमा खरिद गरिएको पहिलो मेसिन भने सञ्चालनमा छ । त्योसहित अर्को दुई मेसिनबाट अहिले कोशीमा पिसिआर परीक्षण भइइरहेको छ । दोस्रो अटोमेटिक मेसिन भने सञ्चालनमा नआउँदा कोरोना परीक्षणको दर बढ्न सकेको छैन । मेसिनका लागि आवश्यक पर्ने किटलगायत परीक्षणका सामाग्रीहरु नभएका कारण मेसिन सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो ।
फरक–फरक मेसिनमा फरक–फरक किट लाग्ने हुँदा मेसिनमा फिट हुने किटलगायतका आवश्यक परीक्षणका सामाग्रीहरु आउने क्रममा रहेको दासले जानकारी दिनुभयो । अस्पतालमा अहिले दुई वटा मेन्युअल मेसिनबाट मात्रै परीक्षण भइरहेको छ । अटोमेटिक मेसिन पनि सञ्चालनमा आएको खण्डमा परीक्षण दर बढाउन सकिने अस्पतालको पिसिआर ल्याब इञ्चार्ज प्रणवकुमार यादवले जानकारी दिनुभयो ।
अहिले दुईवटा मेसिनबाट दैनिक सरदर दुईदेखि तीन सय जनासम्मको पिसिआर परीक्षण हुँदै आएको छ । परीक्षणको दर कम भएकाले स्वाब दिएपछि नतिजा आउन धेरै दिन लाग्ने गरेको छ ।
३२ लाख रुपैयाँमा खरिद गरेर हस्तान्तरण गरिएको अमेरिकन कम्पनीको अटोमेटिक मेसिन सञ्चालनमा आएमा एक घण्टामा ९६ जनाको पिसिआर परीक्षण गर्न सकिन्छ । मेसिन प्राप्त गरेपछि अस्पतालले दैनिक १ हजार ५ सयसम्म स्वाब परीक्षण गर्न सकिने अवस्था बनेको बताएको थियो ।
मेसिन खरिदको लागि महानगर प्रमुख भीम पराजुलीले एक वर्षको सुविधा वापतको ५ लाख रुपैयाँ र उद्योगी राजेन्द्र राउतले ७ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । यस्तै भीम घिमिरे, प्रकाश मुन्दडा, अरुण न्यौपाने, जीवन घिमिरे, मुकेश उपाध्याय, सुयश प्याकुरेल, सुशिल धनावत, प्रदिप मुरारका, राजकुमार गोल्छा, राज्यलक्ष्मी गोल्छा, सुरेन्द्र गोल्छा, राकेश सुराना, नन्दकिशोर राठी, सुवोध कोइराला, विपिन कावरा, भोलेश्वर दुलाल, पारस लुनिया, राजन खत्री, सन्जय अग्रवाल र अनुज पोद्दारले सहयोग गरेका थिए । मेसिन खरिद गर्न अनुज पोद्धार, मुकेश कोठारी, केएल दुगड, राजकुमार अग्रवाल, तुलसीराम अग्रवाल, आराती स्ट्रिप, रमेश तोदी, नवलकिशोर कावरा, बासु गोल्यान, मोती दुगड, पवन सारडा, अनुपम राठी, नविन रिजाल, विकास वेगवानी, हिमगिरी हाइजिन, केदार कार्की, भाटभटेनी सुपर मार्केट, राजन सिटौला, मोतिराज दाहाल र अविनास बोहराको सहयोग रहेको बताइएको छ ।