धरान । ठेकेदारको मिलेमतोमा अनावश्यक औषधि खरिद गर्न दबाब दिएको भन्दै कोभिड अस्पताल प्रमुखले राजिनामा दिएको दुई साता नवित्दै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका खरिद शाखा प्रमुखको सरुवा भएको छ ।
औषधी व्ययापारीसँगको मिलेमतोमा काम गर्न नमानेपछि चार महिना अगाडि खरिद शाखा प्रमुख भएका विष्णु चापागाईंको प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सरुवा गरेका हुन् ।
कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेका उपकुलपतिको हस्ताक्षरमा मंगलबार चापागाईलाई सरुवाको पत्र थमाइएको छ । धरानका औषधी व्ययसायी चेतन अग्रवालको अनुकुलतामा काम नगरेपछि उनको सरुवा भएको हो । उनलाई शैक्षिक प्रशासनको परीक्षा ब्लगमा पठाइएको छ ।
खरिद शाखामा चेतन अग्रवालका निकट मानिएका सामान्य प्रशासन महाशाखाका प्रमुख अशोक साहलाई लगिएको छ । कर्मचारीहरुको सरुवा २ वर्षमा रजिष्टारको सिफारिसमा हुने प्रतिष्ठानको नियमावली उल्लंघन गर्दै चापागाईको सरुवा उपकुलपतिले गरेका हुन् ।
कुनै जानकारीविना चार महिनाभित्रै सरुवाको पत्र आउनु अस्वभाविक भएको चापागाईको भनाइ छ । यस विषयमा परामर्श गरेर अघि बढ्ने उहाँको भनाइ छ ।
उपकुलपतिको प्रशासनिक सल्लाहाकारको नियुक्ति पाएका दिलिप भट्टरार्इको योजनामा सरुवा भएको प्रतिष्ठानका कर्मचारीहरुले बताएका छन् ।
प्रतिष्ठानका रजिष्टार प्रा.डा. मोहनचन्द्र रेग्मीले आफू कार्यालयको काममा काठमाडौं भएकाले सरुवाको विषयमा जानकारी नभएको बताउनुभयो । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर अग्रवालले पनि यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।
चापागाईले एक लाखभन्दा कमका टुक्रे खरिदलाई नियन्त्रण गर्दै ५ लाख बढिको खरिद प्रक्रियामा सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मार्फत काम गरिरहेका थिए । निस्पक्ष रुपमा टेण्डर प्रक्रिया हुने गर्दा कमिसनको खेलमा हुने मिलेमतो नियन्त्रण भएपछि उनलाई सरुवा गर्ने खेल भएको हो ।
यसअघि प्रतिष्ठानको कोभिड अस्पताल प्रमुख डा.कृष्ण पोखरेलले पनि खरिद प्रक्रियामा उपकुलपतिको सचिबालयको दबाब आएको भन्दै राजिनामा दिनुभएको थियो । कोभिड अस्पतालमा आवश्यक एयर कण्डिसन, फर्निचर, बेडलगायत औषधीजन्य सामान उपकुलपतिको सचिवालयबाट सोझै खरिद गरिएको थियो । त्यसपछि अनावश्यक सामान तथा औषधी खरिदका लागि उपकुलपतिको सचिवालयबाट दवाव आएपछि उहाँले १५ दिनअघि राजिनामा दिनुभएको थियो ।
प्रक्रिया पुरा नगरी खरिद गरिएका सामानको खरिद प्रक्रिया मिलाउन आएको दबाब अस्वीकार गरेपछि खरिद शाखा प्रमुख चापागाईको सरुवा भएको बताइएको छ । कोभिड १९ अस्पतालका अधिकांश सामान खरिद प्रक्रिया पुरा नगरी अग्रवालले नै आपूर्ती गरेका थिए । प्रतिष्ठान स्रोतका अनुसार कोभिड अस्पतालको लागि नियम र प्रक्रिया मिचेर लाखौँको सामान खरिद गरिएको छ । ती सामानको हिसाब मिलाउन सहयोग नगरेकोले यो सरुवा भएको हो ।
अग्रवाल बायोमेड इन्टरनेसनल प्रालिका प्रोप्राइटर हुन । उनका गर्ग डेन्टल, सर्जिमेट, बायोमेडलगायतका ३०/३५ वटा फर्मबाट विपी प्रतिष्ठानमा कारोवार गदैं आएका छन् । प्रतिष्ठानको सर्जिकल सामानहरु सबै उनले ल्याउने गर्छन् ।
बायोमेड इन्टरनेसनल प्रालिको नाममा प्रतिष्ठानलाई नोक्सानी पु¥याएको भन्दैं अख्तियार अनुसनधान आयोगले तत्कालिन उपकुलपछि बीपी दास विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गर्दा अग्रवाललाई पनि विपक्षी बनाएको थियो । अग्रवाल विरुद्ध विरुद्ध १ करोड ४ लाख १६ हजार ७८ सय ७ रुपैयाँको विगो दावीसहित परेको मुद्दा विचाराधिन अवस्थामा छ ।