कोशी अस्पतालमा विपन्नले निःशुल्क उपचार पाउने

विराटनगर । विराटनगरको कोशी अस्पतालसहित देशभरका १५ वटा अस्पतालबाट गरिब तथा विपन्न वर्गले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क पाउने भएका छन् ।

गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७७ जारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको हो ।

काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र गंगालाल राष्ट्रिय हृदय केन्द्रमा यो सेवा उपलब्ध हुनेछ । उपत्यका बाहिर कोसी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेलधुुरा अस्पताल र महाकाली प्रादेशिक अस्पताललाई मन्त्रालयले प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क कार्यक्रमको लागि छनौट गरेको छ ।

कार्यक्रमको सुरुवातमा सम्बन्धित अस्पतालहरुलाई मन्त्रालयले केही बजेट पेश्कीको रुपमा दिनेछ । खर्च रकम सोधभर्नाको लागि पेश गर्दा इकाइ मूल्य स्वास्थ्य बीमा बोर्डको अधिकतम मूल्य हुनुपर्नेछ । कार्यक्रमको अनुगमन तथा निरीक्षण संघ र प्रदेशका सम्बन्धित निकायहरुले आवश्यकता अनुसार कम्तीमा वर्षमा २ पटक गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएकोे छ ।

बुधबार, ०७ असोज, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर