विराटनगर । प्रदेश १ मा कोरोना परीक्षण गरिने किटको अभावमा पिसिआर परीक्षण कम भएको छ । प्रदेश १ को ५ स्थानमा पिसिआर ल्याब सञ्चाललनमा रहेको भएपनि किट अभाबमा परीक्षण दर घटेको हो ।
अहिले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य ल्याब, कोशी अस्पताल, धरानस्थित बीपी कोराइला विज्ञान प्रतिष्ठान, झापाको मेची अस्पताल र कन्काइ पिसिआर प्रयोगशालामा कोरोनाको परीक्षण हुँदै आएको छ ।
पीसिआरबाट कोरोना भाइरस भए नभएको पत्ता लगाउन आवश्यक पर्ने परीक्षण किट रिएजेन्टको अभाव भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिनुभयो । अब प्रयोगशालासँग २/३ दिनको लागि मात्र पुग्ने किट स्टक रहेको छ ।
मेची अस्पताल र धरानस्थित बीपी प्रतिष्ठानमा किट सकिएपछि आइतबार ३/३ सय किट प्रयोगशालाले पठाएको छ । अब प्रयोगशालासँग पनि २ हजारदेखि २५ सय मात्र किट स्टक रहेको छ । सरकारले दुई दिनभित्रमा कोरोना परीक्षण गर्ने किट ल्याउन नसके परीक्षण नै रोकिने खतरा रहेको यादवले बताउनुभयो ।
अहिले दैनिक ५ वटा ल्याबाट सरदर १५ सयको हाराहारीमा परीक्षण हुने गरेको थियो । तर, पछिल्लो दिनमा किट अभाबकै कारण परीक्षण संख्या कम हुँदै गएको छ । कोरोना संक्रमतिको संख्या बढिरहेको भएपनि त्यस अनुसार परीक्षण नभएको देखिएको छ ।
सरकारले प्रदेशमा स्थापित ल्याबको परीक्षण क्षमता ३ हजार ९ सय ५० रहेको बताउँदै आएको छ । तर, त्यो अनुसार परीक्षण भएको छैन । परीक्षण क्षमता अनुसार नभएकै कारण सर्वसाधारणले पिसिआर परीक्षणको लागि ५ दिनसम्म पर्खनुपर्ने अवस्था छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ल्याबको क्षमता दैनिक ६ सय ५० देखि ९ सम्म हो । अन्य ल्याबको तुलनामा सो ल्याबमा धेरै परीक्षण भएपनि पछिल्लो दिनमा क्षमता अनुसार परीक्षण भएको छैन । विराटनगर महानगरपालिकामार्फत चन्दा संकलन गरेर खरिद गरिएको पिसिआर मेसिन त सञ्चालनमै आएको छैन ।
सामाजिक विकास मन्त्रालयका अनुसार असोज लागेपछिको ५ दिनमा ४४८१ जनाको मात्र परीक्षण भएको छ । सोमबार ९६७ जनाको, आइतबार ५५३ जनाको, शनिबार ११३५ जनाको, शुक्रबार ६६९ जनाको र बिहीबार ११५७ परीक्षण भएको थियो । किट कम हुँदै गएकोले पनि परीक्षणमा असर पुगेको हो ।
अहिलेकै अनुपातले पनि स्टक रहेको किटले अब ३ दिन मात्र पुग्ने प्रयोगशालाका निर्देशक यादवले जानकारी दिनुभयो । अहिले सबैभन्दा धेरै धरानस्थित बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण हुने गरेको छ ।
सोमबार बीपीमा ३ सय ६५ जनाको परीक्षण भएको छ । यस्तै विराटनगरस्थित कोशी अस्पतालमा २ सय २१, प्रदेश जनस्वास्थ्य ल्याबमा ३६२, मेची अस्पताल झापामा २८ जनाको परीक्षण भएको छ । जसमा १ सय १९ जनाको पोजेटिभ र ८ सय ५७ जनाको नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
असोज १ गतेबाट सञ्चालनमा आएको झापाको कनकाइ पिसिआर प्रयोगशालामा शुक्रबार र शनिबार ९५ जनाको परीक्षण भएको थियो । किट अभावमा आइतबार र सोमबार सो प्रयोगशालामा परीक्षण भएन । प्रदेश जनस्वास्थ्य ल्याबबाट आइतबार साँझ ३ सय किट लगेकोले मंगलबारदेखि सो प्रयोगशालामा परीक्षण हुनेछ ।
सामाजिक विकास मन्त्रालयले हालसम्म प्रदेशमा १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ । जसमध्ये ५ हजार ६ सय ९३ जनामा कोरोना देखिएको छ ।
हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १२ जना प्रदेश १ बाहिर र ४४ जना प्रदेश प्रदेश १ का रहेको मन्त्रालयले जनाएको छ ।