इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले लक्षण नदेखिएका संक्रमितलाई राख्न सय बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

इटहरी रंगशालामा निर्माण भई सोमबारबाट सञ्चालनमा आएको आइसोलेसनमा १६ वटा शौचालय, चार वटा वाथरुम, दुईवटा लुगाधुने ठाउँ छ ।

लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा इन्टरनेट र सिसिटिभी जडान गरिएको तथा खानेपानी र विद्युतको उचित प्रबन्ध गरिएको उपमहानगरपालिकाले बताएको छ । आइसोलेसनमा ८ जना स्वास्थ्यकर्मी र तीनजना सफाइकर्मी खटिनेछन् भने सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।

आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको ब्यवस्था गरिने छ । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग गरेको थियो । विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी, इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, उद्योग वाणिज्य संघलगायत विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा आइसोलेसन निर्माण गरिएको नगरप्रमुख द्वारिकलाल चौधरी जानकारी दिनुभयो ।

इटहरीमा कोरोना संक्रमितको संख्या दिनहुँ थपिने क्रमसँगै आइसोलेसनको अभावमा संक्रमितहरु घरमा नै बस्न बाध्यय थिए । उपमहानगरको कार्यपालिका वैठकले आइसोलेसन सञ्चालनको जिम्मेवारी पनि भूपेन्द्र बराल संयोजकत्वको कोभिड रोकथाम तथा नियन्त्रण तथा ब्यवस्थापन उपसमितिलाई दिएको छ ।

इटहरीमा अहिलेसम्म ४०७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये २०० जनाभन्दा धेरै होम आइसोलेसनमा रहेको इटहरी उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरी जानकारी दिनुभयो ।