विराटनगर । ग्राहकले धितो राखेको सुन लिएर फरार भएका मोरङको बुढीगंगा गाउँपालिका २ टंकिसिनवारिमा सुनचाँदीको व्यापार गर्दै आएका चन्दन स्वर्णकार र उनकी श्रीमति संगीतिाको अर्को पनि ज्वलर्स रहेको पाइएको छ । दम्पतीले बुढीगंगा गाउँपालिका–३ गोकुवास्थित ‘शिवान्स ज्वेलर्स’ सञ्चालन गरेपनि अहिले बन्द गरेर हिँडेका छन् ।
बीरबहादुर खड्काको घरमा स्वर्णकारले दुई महिना अगाडिदेखि सुन पसल संचालनमा ल्याएका थिए । बुढीगंगा गाउँपालिकाभित्रका करिब २ सयभन्दा बढीले संख्यामा धितोमा राखेको सुन र सुनचाँदी बनाउन दिएको पैसा लिएर स्वर्णकार दम्पत्ती फरार छन् । नयाँ पसलबाट स्वर्णकारले ठगी गरेको हुनसक्ने पीडित बुढीगंगा गाउँपालिका २ का सुर्यबहादुर थापाले बताउनुभयो ।
‘टंकीसिनवारीमा रहेको चन्दा ज्वलर्समा धितोमा राखेको एक सयभन्दा बढी ग्राहकको सुनचाँदी लिएर फरार छन्,’ थापाले भन्नुभयो, ‘स्वर्णकारको पसल बुढीगंगाको गोकुवामा पनि रहेको हामीले फेला पारेर पसलमा ताल्चा लगाएका छौं ।’
ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर फरार भएपछि स्वर्णकार विरुद्ध प्रहरीमा जाहेरी दिने बढेका छन् । फरार भएका सुनचाँदी व्यवसायी चन्दन स्वर्णकार र उनकी श्रीमती संगीतालाई पक्राउ गरि कारवाहीको माग राख्दै मोरङ प्रहरीमा उजुरी दिनेको संख्या बढ्दै गएको हो ।
ग्राहकले धितोमा राखेको सुन बोकेर सञ्चालक फरार भएको समाचार हाम्रोमतले सार्वजनिक गरेपछि पीडितहरू मोरङ प्रहरीमा उजुरी दिन जाने क्रम बढेको हो । पहिलो पटक भदौ २८ गते देवी थापा निरौला र राजन खड्काले चन्दा ज्वेलर्स संचालक स्वर्णकार विरुद्ध किटानी जाहेरी दर्ता गराएपछि अहिले अन्य पीडितहरू पनि प्रहरी कार्यालयमा पुगेर जाहेरी दिन थालेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीमा हालसम्म एक दर्जन बढीले उजुरी दिएका छन् ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँले आरोपीलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको र थप अनुसन्धान भइरहेको बताउनुभयो ।
स्वर्णकारकोबाट बुढीगंगा २ टंकीसिनवारीकी देवी थापा निरौलाले विभिन्न मितिमा साढे चार तोला सुन धितो राखेर १ लाख रुपैयाँ कर्जा लिनुभएको थियो । एक हप्ताअघि पैसा बोकेर सुन उकास्न जाँदा पसल बन्द भएको दखेपछि मात्र सञ्चालक भागेको खुलेको थियो ।
बुढीगङ्गा ३ बाँसवारीकी राधा बरालले पनि ८ आना सुन धितो राखेर १४ हजार रुपैयाँ ऋण लिनुभयो । आफूले भदौ २ गते लिएको ऋण तिर्न जाँदा पसल बन्द भएको पाएपछि ठगिएको खुलेको उहाँको भनाइ छ । चन्दा ज्वेलर्सले सुन धितोमा राखेर दिएको ऋणको २४ प्रतिशत ब्याज लिने गरेको थियो ।