विराटनगर । सरकारले बिहीबारदेखि यात्रुबहाक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै विराटनगर बसपार्कमा दैनिक लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालनमा आएका छन् ।
कोरोना भाइसरको त्रासका कारण सरकारले चैत १० गतेदेखि लकडाउन गरेपछि रोकिएका सवारी साधन चल्न थालेका हुन् ।
तीन दिनमा १ सय ७७ वटा सवारी साधन विराटनगर बसपार्कबाट छुटेको छ । यात्रुबहाक सवारी साधन खुलेपनि यात्रुहरूको चहलपहल भने उल्लेख्य छैन । शुक्रबार विराटनगर बसपार्कबाट लामो र छोटो दुरीको गरि ८२ वटा सवारी साधन छुटेका छन् । ८२ मध्ये १० वटा लामो दुरीको र ७२ वटा छोटो दुरीको रहेको वर्षपार्कस्थित सुनौलो पूर्वी यातयात व्यवसायी संघका कोषाध्यक्ष राजु धमालले जानकारी दिनुभयो ।
शनिबार ९२ वटा यात्रुबहाक सवारी साधन बसपार्कबाट छुटेकोमा १२ वटा लामो दुरीका छन् । पहिलो दिन बिहीबार विराटनगर बसपार्कबाट ४ वटा मात्र सवारी साधान मात्र छुटेको थियो । यात्रुबहाक सवारी साधन सञ्चालनमा आएपनि कारोना त्रासको कारण यात्रुको संख्या न्यून रहेको धमालले बताउनुभयो । ‘अहिले विराटनगर बसपार्कबाट छुटेका जतिपनि सवारी साधनहरू रहेका छन्, अधिकांश गाडीले ५÷६ जना यात्रु राखेर सवारी गुडाउँदै आएका छन्,’ उहाँले भन्नुभयो, ‘दैनिक खर्च धान्न पनि गाह्रो हुने गरेको छ ।’
अहिले विराटनगरबाट छुट्ने यात्रुबहाक सवारी साधनले स्यानिटाइरज, माक्सलगायतको सुरक्षा सावाधनी अपनाएर सञ्चालन भएका छन् । यातायात व्यवसायीहरुले स्यानिटाइज गर्ने ट्याङ्की (मेशिन), पन्जा, फेसशिल्ड, पीपीई र गमबुट खरिद गरेर मजदुरलाई दिएका छन् । विराटनगरमा स्यानिटाइज गरिएको गाडी गन्तव्यमा पुगेपछि पुनः स्यानिटाइज गरेर मात्रै फर्कने गरेको छ ।
लामो दुरीका यात्रुले आफ्नो सुरक्षाका लागि आफैं मास्क र स्यानिटाइजर बोकेर जानुपर्ने हुन्छ । एउटा सिटमा एक जनालाई मात्र बस्ने अनुमति दिइएको छ । व्यवसायीले चालक र सहयोगीलाई मास्क र पन्जा तथा टिकट परीक्षण गर्ने, पैसा उठाउने र यात्रुहरूको सुविधासम्बन्धी ख्याल गर्ने व्यक्ति (कन्डक्टर) लाई मास्क, पन्जा र फेसशिल्ड अनिवार्य गरेका छन् ।
बसपार्कबाट नियमित रुपमा दैनिक लामो तथा छोटो दुरीका गरेर ३५० वटा यात्रुबहाक सवारी साधन छुट्ने गरेको थियो ।

