विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको शनिबारको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले गएको २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको मृत्ययु भएको जानकारी दिनुभयो । मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७६ र ६८ वर्षीया, काठमाडौँका ७७ र ३७ वर्षीया रहेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।संक्रमितमध्ये मृत्यु हुने प्रतिशत ०.६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । जसमा ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।