विराटनगर । विराटनगरमा एक विवाहित महिलालाई झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार प्रयास गर्ने पक्राउ परेका छन् ।

बिहे गरेको ६ वर्षसम्म पनि सन्तानविहीन रहेकी महिलालाई झारफुक गर्ने बहानामा बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको हो ।

राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति भएको बताइएको छ । महिलामाथि बलात्कारको प्रयास गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएका कारण निराश बनेर पुगेकी एक महिलालाई झारफुक गरेर गर्भ रहने बनाइदिन्छु भन्दै उनले बलात्कार प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ । सन्तानको आशमा रहेकी महिलालाई भदौ २५ गते बिहान रामले घरकै पूजाकोठामा लगेर बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

रामकोमा ती महिला आफ्ना श्रीमानलाई लिएर पुगेकी थिइन् । त्यसक्रममा एक लिटर दूधमा खीर पकाउन लगाउँदै खान दिएर आफूमाथि बलात्कार गर्न खोजिएको जानकारी महिलाले प्रहरीलाई दिएकी छन् । खीर पाकिसकेपछि श्रीमानलाई खान दिएर बाहिर पठाएर आफूलाई पूजा कोठामा लगेर खान दिएको र त्यसक्रममा बेहोसीको अवस्थामा पुगेपछि बलात्कार प्रयास गरेको पीडितको भनाइ छ । आफूलाई लट्याउने कुरा मिसाएको खीर खान दिएसँगै शरीर आलसतालस भएर सबै कुरा राम्ररी थाहा नपाउने अवस्थामा पुगेपछि अंगालो हाल्दै रामले कपडा खोलेर बलात्कारको प्रयास गरेको महिलाको भनाइ छ ।

घरबाहिर रहेका महिलाका श्रीमानले घटना देखेपछि छिमेकीलाई बोलाएका थिए । पीडितको जाहेरीका आधारमा धामीझाँक्रीको काम गर्दै आएका पुरुषलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गर्दा महिलामाथि बलात्कार प्रयास भएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका रामविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन शुक्रबार म्याद थप गरेको छ ।