फन्दामा पर्दैछन् फरार अभियुक्त

विराटनगर । विभिन्न अपराध गरि फरार भएका अभियुक्त पक्राउ गर्न सादा पोशकमा विशेष प्रहरी टोली परिचालन गरेपछि अहिले प्रदेश १ मा धमाधम प्रतिवादी पक्राउ पर्न थालेका छन् ।

प्रदेश १ का १४ जिल्लामा गएको आर्थिक वर्षमा प्रहरीले झण्डै एक हजार फरार अभियुक्त पक्राउ गरेको छ ।

अदालतले गरेको फैसला कार्यान्वयन गराउने उद्देश्य अनुरुप प्रदेश १ मा प्रहरीले एक वर्षमा ९ सय ७७ जना फरार अभियुक्तहरू पक्राउ गरी अदालतमा उपस्थित गराएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७६÷७७ प्रदेश १ मा ९ सय ७७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि अदालत उपस्थित गराएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

फौजदारी मुद्दाका ६ सय १ जना फरार प्रतिवादीलाई पक्राउ गरि अदालतमा बुझाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । फरार भएका प्रतिवादीहरुलाई अदालत उपस्थित गराए आर्थिक वर्षमा ४ सय २ वर्ष ६ महिना ५ दिन कैद भुक्तान र १९ करोड ३४ लाख ५२ हजार ५ सय ४३ रुपैयाँ जरिवाना असुल भएको प्रदेश प्रहरीको अभिलेखमा उल्लेख छ ।

आर्थिक वर्षमा प्रदेशभरीमा ९ सय ७७ जना फरार प्रतिवादी पक्राउ गरेकोमध्ये सबैभन्दा बढी मोरङ प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ । सो आर्थिक वर्षमा मोरङ प्रहरीले ४ सय ४३ जना फरार प्रतिवादी पक्राउ गरि अदालत उपस्थित गराएको छ ।

मोरङ प्रहरीले पक्राउ गरेको प्रतिवादीमध्ये ३ सय ३४ फौजदारी र १ सय ९ जना देवानी संहिता मुद्दाका छन् । पक्राउ परेकाहरूबाट १ सय २६ वर्ष, ७ महिना ६ दिन कैद र १७ करोड १५ लाख ८ हजार १ सय १५ रुपैयाँ जरिवना असुली भएको छ ।

यस्तै मोरङपछि दोस्रोमा सुनसरीले बढी फरार प्रतिवादी पक्राउ गरेको छ । सुनसरीले ३ सय १२ जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेकोमध्ये ८४ जना फौजदारी र २२८ जना देवानी मुद्दाका प्रतिवादी छन् ।

यस्तै झापाले ८७, इलामले १२, पाँचथरले ८, ताप्लेजुङ्गले १०, तेह्रथुमले ७, उदयपुरले ५९, खोटाङले ९, ओखलढुङ्गगाले ३, सोलुखुम्बुले ६, संखुवासभाले १६ र भोजपुरले ५ जना फरार प्रतिवादी पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा धनकुटाले फरार प्रतिवादी पक्राउ गरेको छैन ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा प्रदेश भरीबाट १ हजार ५ सय ४९ जना फरार प्रतिवादी पक्राउ गरि अदालत उपस्थित गराएको प्रहरीको भनाइ छ । उनीहरूबाट ८ सय ६० वर्ष, ११ महिना २ दिन कैद भुक्तान र ३ करोड ५६ लाख ९९ हजार ४ सय १६ रुपैयाँ जरिवना असुल गरिएको प्रहरीको अभिलेखमा देखिन्छ ।
प्रहरीले अभियुक्तहरूलाई पक्राउ गर्न विशेष प्रहरी टोली नै परिचालन गरेको बताइएको छ ।

बिहिबार, ०१ असोज, २०७७, बिहानको ०९:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर