विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना भएकी एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

पित्तथैलीको शल्यक्रियाका लागि भार्न भएकी मोरङको बेलबारी नगरपालिका– ७ बाहुनीकी ६४ वर्षीय महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

भदौ २८ गते अस्पतालमा भर्ना भएकी महिलाको अत्यधिक पेट दुख्ने समस्या रहेकोमा परीक्षण गर्दा पित्तथैलीमा पत्थरी देखिएको थियो । अस्पतालले शल्यक्रिया गर्नुअघि कोरोना संक्रमण परीक्षण गर्नुपर्ने बताएपछि सोमबार उनको स्वाब संकलन गरिएकोमा रिपोर्ट नआउँदै मंगलबार राति मृत्यु भएको हो ।

मृतकको बुधबार परीक्षणको रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । अस्पतालले महिलाको बुधबार शल्यक्रिया गर्ने तयारी गरेकोमा मृत्यु भएको जनाएको छ ।

यी महिलाको मृत्युसँगै मोरङको बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बेलबारी–५ की एक वृद्धाको मृत्यु भएको थियो । मोरङ जिल्लाभरमा मृतकको संख्या २९ पुगेको छ ।