विराटचौंक । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै पुनः कार्यकारी निर्देशक नियुक्त गर्नुपर्ने माग गर्दै बुधबार मोरङको विराटचौकमा प्रदर्शन भएको छ ।
कुलमानको पक्षमा देशब्यापी प्रदर्शन सुरु भएको बेला युवाहरुले विराटचौकमा कुलमानको समर्थनमा प्रदर्शन गरेका हुन् ।
योग्यता र क्षमता हुँदाहुँदै पनि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता नदिइएको भन्दै सहभागीले सरकारको विरोध गरेका थिए । सहभागीहरूले सरकार कमिसनको चक्करमा लागेर कुलमानजतिको योग्य मानिसलाई निरन्तरता नदिएको भन्दै प्लेकार्डसहित विरोध गरेका थिए ।
नेपाललाई लोडसेडिङमुक्त गराएका घिसिङको ४ वर्षे कार्यकाल पुरा भएपछि उनी प्राधिकरणबाट विदा भइसकेका छन् । उनलाई थप एक कार्यकाल प्राधिकरणका नियुक्त गर्नुपर्ने आवाज चौतर्फी रुपमा उठिरहेको छ । तर, प्रधानमन्त्रीले नरुचाएको कारण उनको पुनःनियुक्ति हुन सकेको छैन ।