काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तत्कालीन उपकुलपति डा.बलभद्रप्रसाद दास विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले मंगलबार डा.दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा विगो तोकेर भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
डा.दासले सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको मिति २०७६ असार ३० सम्मको वैध आय ७ करोड ६० लाख १० हजार ४८९ रुपैयाँ ८० पैसामात्र रहेको आयोगको ठहर छ । तर, उनले सोही अवधिभित्र १५ करोड ३२ लाख ३ हजार ३५० रुपैयाँ ४ पैसा खर्च तथा लगानी गरेको पुष्टि हुन आएको दावी गर्दै आयोगले वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसाको स्रोत खुल्न नआएको भन्दै मुद्दा दायर गरेको हो ।
डा.दासले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी पत्नी पुनम दासको नाममा समेत राखेको भन्दै आयोगले स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि पुनम दासलाई समेत प्रतिवादी कायम गरेको छ । विशेष अदालत काठमाडौंमा दास विरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

