विराटनगर । कोरोना संक्रमितमाथि समाजिकरुपमा हुने दुव्र्यवहार र तिरस्कारजन्य व्यवहार विरुद्ध सामाजिक सद्धभाव प्रवर्दन गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगर महानगर कमिटीले संक्रमित परिवारसँग भेटघाट र सहयोग अभियानलाई निरन्तरता दिएको छ ।
कोरोना संक्रमण भएपछि परिवार क्वारेन्टाइनमा बस्नुपर्ने र समाजका अन्य सदस्यहरुले संक्रमितलाई सहयोग नगर्ने बरु भेदभाव गर्ने प्रवृत्ति विरुद्ध सामाजिक सचेतनासहित नेकपा विराटनगरले साउन महिनादेखि सचेतना तथा सहयोग अभियान अघि बढाएको हो ।
संक्रमितहरुसँग भेटघाट गर्ने, आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार प्रदान गर्ने अभियान अन्तरगत मंगलबार विराटनगर ४ राजवंशी चोकका एघार घरपरिवारसँग नेकपा विराटनगरले भेटघाट गरेको छ । भेटघाटका क्रममा विविध आयुर्वेदिक जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी आदि सामग्री संक्रमित परिवारलाई उपहारस्वरुप हस्तान्तरण गरिएको थियो । नेकपा महानगर कमिटीका कार्यलय सदस्य नमिता न्यौपानेले सम्वन्धित परिवारहरुलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो ।
त्यस क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा विराटनगर कमिटीका अध्यक्ष सागर थापा, सचिव हेम कार्कीसहित विराटनगर ४ वडा कमिटीका पदाधिकारी तथा नेता कार्यकर्ताहरुको उपस्थित थियो ।
नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिव ७०० संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ ।
कोरोनाका कारण लामो समय पार्टी गतिविधि ठप्प जस्तै भएको बेला सुरु गरिएको अभियानलाई स्थानीय नगरबासीहरुले सकारात्मक रुपमा लिएको र जनतालाई समस्या पर्दा जिम्मेवार राजनीतिक पार्टीले सहयोग गर्छ भन्ने विश्वास जनतामा पैदा भएको अध्यक्ष सागर थापाले बताउनुभयो । उहाँले अभियान थप केही दिन जारी राख्ने जानकारी दिनुभयो ।
यसअघि नेकपा महानगर कमिटीले संक्रमित परिवारको घरमा निर्मलीकरण गर्ने अभियान सञ्चालन गरेको थियो । उक्त अभियान अहिले पनि जारी रहेको र टोल समाजबाट आग्रह भएमा तत्काल निर्मलीकरण गर्ने गरेको थापाले बताउनुभयो ।