विराटगरका विरामी र कोशीमा प्रसुति गराउनेलाई निःशुल्क रगत

विराटनगर । नेपाल रडेक्रस सोसाइटी मोरङ शाखा अन्तर्गत क्षेत्रीय रक्तसंचार केन्द्र विराटनगरलाई स्थानीय तहले आवश्यक रकम दिने सम्झौता भएपछि विरामीलाई निःशुल्क रगत उपलब्ध गराउन थालेको छ ।

बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत विगतमा प्रतिपिन्ट ८१० रुपैयाँ शुल्क लिँदै आएको रेडक्रसलाई विराटनगर महानगरपालिकाले आवश्यक बजेट बिनियोजन गरेपछि निःशुल्क रुपमा रगत उपलब्ध गराउन थालेको हो ।

विराटनगर महानगरपालिकाले नगरवासीको स्वास्थ्य समस्या भई अस्पताल भर्नापछि रगत आवश्यक भएको अवस्थामा निःशुल्क रुपमा रगत उपलब्ध गराउने निर्णय गत नगरसभाबाट गरेको थियो । नगर कार्यपालिकाको निर्णयपछि स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन यो वर्ष ५ लाख रूपैयाँ बजेट महानगरले रेडक्रसलाई उपलब्ध गराउनेछ ।

आवश्यकता अनुसार बजेट थप गरेर लैजाने विराटनगर महानरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलिले जानकारी दिनुभयो । नेपाल रेडकक्रस सोसाईटी मोरङसँग समन्वय गरेर ८१० मा रुपैयाँ पर्ने रगतको मूल्य अब विराटनगर महानगरले एकमुष्ट रुपमा रक्तसञ्चार केन्द्रलाई भुक्तानी गर्ने उहाँको भनाइ छ ।
‘निःशुल्क रुपमा रगत पाउनको लागि अस्पताल भर्ना भएका विरामीलाई चिकित्सकको रगत आवश्यक भएको सिफारिस दिएको हुनुपर्नेछ,’ स्वास्थय निरीक्षक अलीले भन्नुभयोे, ‘सिफारिस लिएर रक्तसञ्चार केन्द्रमा गएपछि रगत उपलब्ध हुनेछ ।’ निःशुल्क रगतको लागि विरामी महानगरभित्रको स्थायी बसोबासी हुनुपर्ने र परिचयपत्र अनिवार्य आवश्यक पर्नेछ ।

रेडक्रस सोसाईटीसँग १ वर्षसम्मको लागि सम्झौता गरेको महानगरले जनाएको छ । रक्तसञ्चार सेवा केन्द्रबाट एक वर्षसम्म खपत भएको रगतको आधारमा महानगरले रेडक्रस सोसाईटीलाई भुक्तानी गर्नेछ ।

कोशीमा पनि निःशुल्क रगत
यता विराटनगरस्थित कोशी अस्पतालको प्रसूति गराउन आउने आमाहरूलाई रगत आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने गरेको छ । कोशी अस्पतालको स्त्री तथा प्रसुति विभाग अन्तर्गत प्रसुति ९सुत्केरी० कक्षमा भर्ना भएका भएका गर्भवती महिलाका लागि निःशुल्क रगत उपलब्ध गराउने कोशी अस्पताललका सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिनुभयो ।

राज्यले सञ्चालन गरेको ‘सुरक्षित प्रसुति सेवा’ अन्तर्गत रक्तसञ्चार सेवा निःशुल्क गरिएको मेसु दासले बताउनुभयो । प्रसूति गराउन आउने आमालाई रगत आश्वयक परेमा निःशुल्क उपलब्ध गराउन रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको प्रसुति कक्षमा भर्ना भएका गर्भवती महिलाहरु जुनसुकै स्थानको भएपनि अस्पतालले रगत उपलब्ध गराउनेछ । अस्पतालमा भर्नापछि रगत आवश्यक भएको चिकित्सकको सिफारिस अनिवार्य हुनुपर्नेछ । प्रसूति कक्षमा भर्ना भएकाबाहेक अन्य विरामीको हकमा भने निःशुल्क नहुने अस्पतालले जनाएको छ ।
कोशीको गाइनो वार्डमा दैनिक १५ देखि २० जनाले प्रसूति गराउने गरेका छन् । जसमध्ये शल्यक्रिया गर्नुपर्नेलाई रगत आवश्यक पर्ने गरेको छ ।

रेडक्रस सोसाइटीका सभापति सुवोध सिंहले मोरङमा पहिलो पटक विराटनगर महानगरपालिकाले संस्थागत रुपमा बिरामीलाई रगत उपलब्ध गराउन सम्झौता गरेको बताउनुभयो । सभापति सिंहले अन्य स्थानीय तहसँग समेत समन्वय र सहकार्य गरेर अगाडि बढ्ने योजना राखिएको बताउनुभयो ।

मङ्गलबार, ३० भदौ, २०७७, दिउँसोको ०१:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर