विराटनगर । विराटनगर महानगरपालिका–११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार राति न्यौपानेको पोजेटिभ रिपोर्ट आएको हो ।

यसअघि विराटनगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलसहित वडा नं. २ का अध्यक्ष कुमार पोखरेल र वडा नं. ५ का अध्यक्ष मिनकुमार आचार्यलाई कोरोना पुष्टि भइसकेको छ ।
कोरोना देखिएपछि न्ययौपानेले चिकित्सकसँग परामर्श गरेर ‘होम आइसोलेसन’मै बसेको बताउनुभयो । अन्य दुई वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पनि होम आइसोलेसनमै छन् ।

वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीसहित महानगरका कर्मचारीहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । मेयर पराजुलीका सवारी चालकमा पनि कोरोना पुष्टि भएपछि उहाँ जैन भवनको क्वारेन्टाइनमा बस्नुभएको छ ।

मेयरसँगै महानगरका केही कर्मचारी, स्वास्थ्यकर्मी तथा पराजुलीको निजी सचिवालयका कर्मचारी अहिले क्वारेन्टाइनमा बसेका हुन् । कर्मचारी र जनप्रतिनिधिमा संक्रमण देखिन थालेपछि महानगरले सोमबारबाट ५ दिनका लागि कार्यालयबाट प्रदान हुँदै आएका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

विराटनगरमा कोरोना संक्रमणका कारण १८ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ हजार ४७२ पुगेको छ ।