विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार स्वाब दिनुभएका पोखरेललाई कोरोना संक्रमण भएको रिपोर्ट आइतबार बिहान आएको हो ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई कोरोना देखिएको पुष्टि गर्नुभयो । पोखरेललाई संक्रमण पुष्टि भएपछि महानगरका अधिकांश कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।
महानगरको कर्मचारी संयन्त्रको नेतृत्व गर्ने पोखरेललाई कोरोना देखिएपछि महानगरको अत्यावश्यकबाहेक सेवा ५ दिन बन्द गर्ने तयारी गरिएको छ । यसअघि विराटनगर–२ का वडाध्यक्ष कुमार पोखरेल र विराटनगर–५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई कोरोना देखिएको थियो ।
वडाध्यक्ष पोखरेललाई संक्रमण देखिनुअगाडि प्रशासकीय अधिकृत पोखरेल एउटै बैठकमा सहभागी हुनुभएको थियो । उहाँलाई त्यहि बैठकबाट कोरोना संक्रमण भएको अनुमान महानगरका कर्मचारीले गरेका छन् ।
विराटनगरमा अहिलेसम्म १ हजार ३ सय ६४ जनालाई संक्रमण पुष्टि भइसेकको छ । जसमध्ये १७ जनाको मृत्यु भएको छ भने ३५० जना संक्रमणमुक्त भएका छन् ।
चाँडो जाती होस !