काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ मा आइतबार विहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ७ जनाको शव फेला परेको छ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोमा अझै २४ जना हराइरहेका छन् ।
शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नाकचुच्चेबाट बर्खर्कसम्म ठाउँ–ठाउँमा पहिरो गएको छ । यसअघि पनि पहिरो जाँदा सम्भावित ठाउँहरू आँकलन गरी सुरक्षित गरिएको थियो।
स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । पहिरोमा १६ घर क्षतिग्रस्त भएका छन् । घाइते तीन जनालाई एम्बुलेन्समा राखेर उपचारका लागि काठमाडौं पठाइएको छ। प्रहरीले भेटिएका शवहरूको पहिचान गरिरहेको छ।
बेपत्ता भएकाहरूको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। सो क्षेत्रका निर्वाचित सांसद एवं सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको ठाउँमा पुग्नुभएको छ ।
पहिरोको खबर आएपछि सभामुख सापकोटा आइतबार बिहान काठमाडौंबाट जानुभएको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।