एक हजार घुस लिएको आरोप लागेपछि आत्महत्या : अदालतबाट निर्दोष ठहर 

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार रामहरि सुवेदीलाई अदालतले निर्दोश ठहर गरेको छ ।

अख्तियारले कुनै ठोस प्रमाणविनै घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका खरिदार सुवेदीले विषेश अदालतबाट सफाइ पाएका हुन्।

मालपोत कार्यालय कलंकीमा कार्यरत भक्तपुरको सूर्यविनायक नगरपालिका ५, कटुन्जे निवासी सुवेदीलाई सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपमा अख्तियारले गत वर्ष २०७६ साउन २२ गते पक्राउ गरेको थियो। मालपोत कार्यालयको सीसीटीभी फुटेज हेर्दा कृष्णप्रसाद घिमिरेबाट घुस लिएको भन्दै उनलाई अख्तियारले हाजिर हुन कार्यालयमा बोलाएको थियो।

आफैं अख्तियारमा पुगेका सुवेदीलाई ४२ दिन हिरासतमा राखेर भदौ ३१ गते मुद्दा दर्ता गर्न विशेष अदालतले धरौटीमा रिहा ग¥यो । तर, त्यसको एक साता नबित्दै असोज ६ गते उनले आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरे। भ्रष्टाचारी भनेर भएको अपमान सहन नसकेर उनले आत्महत्या गरेका थिए ।

सुवेदी उपरको मुद्दा सुनुवाई गर्दै विषेश अदालतले गत असार ३० गते उनलाई सफाइ दिएको हो । पूर्णपाठ सार्वजनिक भइनसकेको उक्त फैसलामा सबै तथ्य प्रमाण केलाउँदा मृतक सुवेदीले पनि सफाइ पाउने देखिएपनि उनको मृत्यु भइसकेकाले उनका हकमा मुद्दा खारेज हुने ठहर भएको उल्लेख छ ।

न्यायाधीशहरू चन्द्रबहादुर सारू र रवि शर्मा अर्यालको इजलासले सुवेदीलाई निर्दोष ठहर गर्दै सफाइ दिने फैसला गरेको हो। मुद्दा खारेज गर्ने फैसला भएपनि इजलासले अदालतमा पेश भएका तथ्य र प्रमाणका आधारमा उनले सफाइ पाउने देखिएको फैसलामा उल्लेख छ ।

फैसलामा सुवेदीले घुस लिएको भनेको रकम बरामद नभएको तथा घुस दिने भनिएका व्यक्ति कार्यालयका सेवाग्राही भए नभएकोबारे पनि अख्तियारले अभियोगमा केही उल्लेख गर्न नसकेको उल्लेख छ। ‘जुन प्रयोजनका लागि रकम दिएको भनिएको छ, त्यो काम खरिदार सुवेदीले गरिदिने काम थियो कि थिएन भन्नेसमेत अख्तियारले उल्लेख गर्न नसकेको फैसलामा उल्लेख रेको विशेष अदालत स्रोतले बताएको छ ।

अभियोगपत्रमा अन्य सेवाग्राहीको सामुन्नेमा घुस लिएको सीसीटीभीमा देखिएको उल्लेख गरिएको छ । त्यो देखेका मानिस को हुन् र उनीहरूले के देखेका थिए भन्नेबारे अख्तियारले उनीहरूको कागज गराएकोसमेत थिएन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि यसअघि पनि अदालतले थुप्रैपटक प्रश्न उठाएको थियो। यो घटनाले अख्तियारले कतिसम्म हचुवाका भरमा मुद्दा दायर गर्दो रहेछ भन्ने उजागर गरेको छ।

कमजोर अनुसन्धानको भरमा दायर भएको मुद्दाका कारण मानिसको ज्यान नै गएपछि भने अख्तियार र त्यहाँका अनुसन्धान अधिकृतको क्षमतामाथि अझ गम्भीर प्रश्न उठेको छ । हिमालखबरबाट

शनिबार, २७ भदौ, २०७७, दिउँसोको ०१:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर