इटहरी । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएका एक भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने धम्की दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फोनमार्फत् धम्की आएपछि अन्सारीले प्रहरीलाई खबर गरेका थिए । धम्की दिने ठेकेदारलाई सुनसरी प्रहरीले कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट राति नै नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।

अध्यक्षलाई ज्यान मार्ने धम्की आएको खबरसँगै स्थानीयले विरोधमा केही समय राजमार्गसमेत अवरुद्ध गरेका थिए । भगत कोशी प्रोजेक्टका ठेकेदार हुन् । नेपालतर्फ पनि विभिन्न ठेक्का पट्टा हेर्ने उनको ससुराली सुनसरी हो ।

पारिवारिक विवादमा अध्यक्ष अन्सारीले हस्तक्षेप गरेको भन्दै उनले अध्यक्षलाई धम्की दिएका थिए । अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।