विराटनगर । झापा र मोरङबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक एग्रोभेट सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका ३ बाट लागुऔषध ब्राउनसुगरसहित गोपाल एग्रोभेट सञ्चालक गोपाल गौतम पक्राउ परेका हुन् ।

गौतमले सञ्चालन गरेको एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोबार हुने गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले छापा मार्दा २२ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । लागुऔषध ब्राउनसुगर बरामद भएसँगै एग्रोभेट सञ्चालक ३० बर्षीय गौतमलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यता मोरङको २ स्थानबाट लागुऔषध गाँजा र ट्याब्लेटसहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजासहित ३ जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी १० गैह्रीगाउँमा पैदल हिँडिरहेका धरान १५ का १९ वर्षीय अजय तामाङ, २२ वर्षीय च्यामन राई र लेटाङ नगरपालिका ७ का १८ वर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा निजहरुको साथबाट १ केजी गाँजा बरामद भएको थियो ।

यसैगरी ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेटसहित एक भारतीय नागरीकलाई पक्राउ गरेको छ । शुक्रवार अपरान्ह भारतको पिप्राहा बिष्णुपुर बस्ने १८ वर्षीय दिपेश यादव ७५ एम्पुल डाईजेपामसहित पक्राउ परेका हुन् ।

भारतीय नम्बरको मोटरसाईकलमा सवार यादवलाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा उक्त परिणामको लागुऔषध बरामद भएको थियो । लागुऔषधसहित पक्राउ परेका सबैको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।