विराटनगर । विराटनगर महानगरपालिकाका अर्का वडाध्यक्षलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।
विराटनगर ५ का वडाध्यक्ष मीनकुमार आचार्यलाई शुक्रबार कोरोना पुष्टि भएको छ ।
वडा अध्यक्ष आचार्यले आफु र परिवारका अन्य दुई जनालाई कोरोनाको संक्रमण देखिएको बताउनुभयो । आचार्यसहित १४ र ९ बर्षीय दुई छोराहरुमा पनि कोरोना संक्रमण देखिएको छ ।
छोरालाई ज्वरो आएपछि शंका लागेर परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष आचार्यले बताउनुभयो । तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा बसिरहेको उहाँको भनाइ छ ।
यसअघि विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेललाई कोरोना पुष्टि भएको थियो । हालसम्म विराटनगरमा १ हजार ३१८ जनामा कोरोना पुष्टि भएको छ भने १६ जना मृतकमा कोरोना देखिएको छ ।

