विर्तामोड । झापाको कन्काई नगरपालिका ३ मा एकै परिवारका ११ लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो परिवारमा १४ वर्षका बालकदेखि देखि ८४ वर्षीय वृद्धासम्ममा कोरोना पुष्टि भएको हो ।
कन्काई नगरपालिका कोरोना सूचना तथा सञ्चार समितिका सदस्य लक्ष्मी अधिकारीका अनुसार सो परिवारका एक जना सदस्य कर्मचारी हुन् । उनमा कोरोना पुष्टि भएपछि घरका सदस्यको पनि स्वाब परीक्षण गर्दा सबै सदस्यमा कोरोना देखिएको हो ।
एकै परिवारका सबै सदस्यमा कोरोना पुष्टि भएपछि उनीहरुलाई होम आइसोलेसनमा बस्न आग्रहसहित कन्काई नगरपालिकाले घरमै खाद्यान्न र आवश्यक सामाग्री उपलब्ध गराएको जनाएको छ। परिवार नै संक्रमित भएकाले अन्य स्थानीयवासी पनि संक्रमित भएको हुनसक्ने आशंकासहित थप परीक्षणको तयारी गरिएको छ ।
कन्काईमा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कन्काईको कोटीहोमस्थित पीसीआर ल्याब सञ्चालनमा आएपनि त्यहाँ जाँचिने स्वाब पुनः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुपर्ने भएकोले रिपोर्ट आउन ढिलाइ भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

