विराटनगर । मोरङमा सवारी दुर्घटना न्युनीकरण भएसँगै ज्यान गुमाउनेको संख्यामा ५१ दशमलव ७८ प्रतिशतले कमी आएको छ ।
कोरोना महामारीका कारण अत्यावश्यक बाहेकका सवारीसाद्यन सञ्चालन हुन नपाएपछि दुर्घटना न्युनीकरण भई मृत्यु हुनेको संख्यामा कमी आएको हो । मोरङमा गत चैत्र गतेदेखि भदौ २० गतेसम्मको अवद्यिमा कुल ३ सय वटा सवारी दुर्घटनाका घटनाहरु भएका छन् । जसमा दुर्घटनामा परि २७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु १९ पुरुष, ७ महिला र १ बालक रहेका छन् । गत बर्ष सोही अवद्यिमा ३ सय ७५ वटा सवारी दुर्घटना भई ५६ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेहरु ४८ पुरुष, ७ महिला र १ बालिका रहेकी थिईन ।
कोरोना भाईरसको रोकथाम तथा न्यूनीकरणका लागी गत चैत्र ११ देखि साउन ६ गतेसम्म जारी १ सय २१ दिने देशव्यापी लकडाउन र हाल विभिन्न स्थानीय तहहरुमा जारी निषेधाज्ञाका कारण मोरङमा सार्वजनिक तथा निजी सवारीसाद्यन सञ्चालन हुन पाएका छैनन् । साउन ६ गतेदेखि लकडाउन खुले लगत्तै केहीदिन सवारीसाद्यन सञ्चालन भएपनि कोरोना संक्रमणको जोखिम उच्च भएसँगै स्थानीय तहले गरेको निषेधाज्ञा र लकडाउनका कारण सार्वजनिक सवारीसाधनको आवागमन ठप्प छ । जसकारण मोरङमा अनुमति बाहेकका सवारीसाद्यनहरु चल्न नपाएपछि दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश पोद्वारको भनाई छ ।
मोरङमा २०७६ को चैत्र महिनादेखि भदौ २० गतेसम्म ट्रक तथा ट्याङकर १५, ट्रिपर ३, बस ४, जिप तथा कार ३२, ट्रयाक्टर १३, टेम्पो २१, मोटरसाईकल १ सय ८३ र शारिरीक शक्तिबाट चल्ने २९ वटा सवारीसाद्यनहरु दुर्घटना भएका छन् । जबकि गत बर्ष सोही अवद्यिमा ट्रक तथा ट्याङकर ४१, बस २३, जिप तथा कार ५३, ट्रयाक्टर १४, टेम्पो १६, मोटरसाईकल १ सय ९० र शारिरीक शक्तिबाट चल्ने ३८ वटा सवारीसाद्यनहरु गरि कुल ३ सय ७५ वटा सवारीसाधनहरु दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङक छ ।
आर्थिक बर्ष २०७६/०७७ अन्तर्गत १ बर्षको अवद्यिभर मोरङमा भने कुल ५ सय ३५ वटा सवारी दुर्घटना भएका थिए । जसमा परि कुल १ सय जनाको मृत्यु भएको थियो ।