विराटनगर । भारतबाट मजदुरी गरेर आएका सामान्य नागरिकहरु सीमा क्षेत्रमा अलपत्र परेको बेला पहुँचवालाहरु भने सहजै नेपाल प्रवेश गरिरहेको पाइएको छ ।
भारतको कलकत्ताबाट आएको विराटनगरको एक परिवारका तीन जना कोरोना परीक्षण नगरी शनिबार वडा कार्यालयको सिफ़ारिसमा घर पुगेको खुलेको छ ।
विराटनगर ७ वडा समितिको लेटरप्याडमा बिराटनगरका एक सम्पन्न परिवारका तीन सदस्यहरुलाई कोरोना चेकजाँच नगरी प्रवेश गराइएको हो । वडाको सिफारिसमा प्रशासनले उनीहरुलाई सहजै नेपाल प्रवेशको अनुमति दिएको छ ।
कलकत्ताबाट आएका व्यक्तिहरुलाई लिन बिराटनगर ७ का वडाअध्यक्ष मधुबाबु तिवारी आफैं सिमामा पुगेका थिए । उनीहरुको ज्वरो पनि जाँच नगरी वडाध्यक्षले घरमै पु¥याएको पाइएको छ । भारतमा कोरोना महामारी व्यापक बनेको बेला भारतबाट आएकाहरु परीक्षण विना आएको बुझेपछि स्थानीय त्रसित बनेका छन् ।
यसअघि पनि विराटनगर २ का ५ जना र सप्तरीका ३ जना गरी ८ जना जोगबनी नाका हुँदै सहजै नेपाल प्रवेश गरेका थिए । सामान्य नागरिकलाई सुरक्षाकर्मीले सीमामा रोकेर अलपत्र बनाइरहेको बेला पहुँचवालाहरुले भने बेरोकटोक आइरहेका छन् ।
भारत सरकारले रेल सेवा संचालन गरेपछि भारतबाट नेपाल आउनेको संख्या बढ्दैछ । तर, सर्वसाधारणले भने सहजै सिमाबाट प्रवेश पाउँदैनन् । उनीहरु चोर बाटोबाट लुकिछिपी आएको कारण कोरोना संक्रमण फैलिरहेको छ । अकोतिर पहुँचवाला परिवारले भने सुरक्षाथ प्रवेश पाइरहेका छन् ।
हरियाणा, दिल्ली, कलकत्तालगायतका ठाउबाट रेल चढेर नेपाल आएकाहरु संक्रमणको जोखिममा हुन्छन् । त्यसैले उनीहरुलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गर्नुपर्नेमा त्यसो भएको छैन ।
अकोतिर प्रशासनले होम क्वारेन्टाइनमा बस्ने भन्दै पठाएकारुको निगरानी नगरेको कारण पनि जोखिम बढ्दो छ । देश लकडाउनमा रहेको २ महिना पुग्नलाग्दा भारतबाट आउनेकै कारण संक्रमितको संख्या नेपालमा बढिरहेको छ । त्यसैले यसमा सचेत हुनुपर्ने देखिन्छ ।