अविश्वासको भुमरीमा डाक्टर शेखर

 अर्जुन आचार्य

कोशी प्रदेश सरकारमा २० दिनपछि पुनः केन्द्रीय गठबन्धन कायम भएको छ । एमालेले बनाएका मुख्यमन्त्री केदार कार्की पुरानै गठबन्धनमा फर्किएका छन् र उनले गठबन्धनको निर्देशन अनुसार सरकार विस्तार गरेका छन् । उनले सरकार विस्तार गरेसँगै एमाले भने सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी मन्त्री रामबहादुर राना मगरले शनिबार बिहानै राजीनामा दिइसकेका छन् । एमालेको वैशाखीमा मुख्यमन्त्रीको दाउ फालेका काँग्रेस नेता डा.शेखर कोइरालाले ठूलो सफलता पाएको प्रचार भयो । तर, मुख्यमन्त्री नियुक्त हुनुपूर्व असोज २७ गते बिहान तिनै शेरबहादुर देउवा, प्रचण्ड र आफू बसेर एउटा चिर्कटोमा सही गरे । गठबन्धन दायाँ बायाँ नहुने प्रतिबद्धता जनाए । एक ढंगले भन्ने हो भने कोशी प्रदेशको २० दिन अगाडिको राजनीतिक परिणाम हात पार्न केदार कार्की र शेखर कोइराला सफल भए ।

योसँगसँगै कोशी प्रदेशको निकटविगत एक महिनामा भएको घटनाले सबैभन्दा बढी विश्वासको संकटमा तिनै काँग्रेस नेता कोइराला पुगेका छन् । उनले आफ्नो मान्छेलाई मुख्यमन्त्री बनाउन सफलता हात पारेपनि राजनीतिक हिसावले आफ्नै पार्टी र अन्य दलहरुसँगको विश्वास भने टुटाएका छन् । उनलाई अब सबै राजनीतिक दलले शङ्काको दृष्टिले हेर्ने छन् भने आफ्नै पार्टीभित्र पनि एक्ल्याउने प्रयास सुरु हुने देखिन्छ ।

कोशी प्रदेश डाक्टर शेखर कोइरालाको गृहप्रदेश पनि हो । यहाँबाट आफ्नो राजनीतिक हैसियतको मापन गर्ने कोशिस गरेका कोइराला वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कटु आलोचक पनि हुन् । उनले स्थानीय तह निर्वाचनको समयमा पनि माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा जान नहुनेमा जोड दिए । संसदीय निर्वाचनमा भने गठबन्धनको पक्षमै मत मागे । निर्वाचन जितेपछि फेरि गठबन्धनको विपक्षमा गएर एमालेसँगको साँठगाँठमै ध्यान केन्द्रीत गरे । सरकारले गरेका कतिपय कदमहरुमा प्रमुख विपक्षी दल नेकपा एमालेले भन्दा अगाडि सरेर आफ्नै पार्टी सहभागी सरकारको विरोधमा शब्दहरु खर्चिए । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आफ्नो गुटमा हरेका काँग्रेसका सांसद डाक्टर सुनिल शर्मा पक्राउ परेपछि त कोइरालाले सरकार विरुद्धको आलोचना र तिखो टिप्पणीहरु झनै बढाए । डाक्टर शर्माले आफ्नै पार्टी सहभागी भएको सरकारको गृहमन्त्रीको राजीनामा मागिरहेका बेला डाक्टर कोइरालाले त्यसभन्दा अगाडि बढेर प्रधानमन्त्री प्रचण्डकै राजीनामा माग गरे । कोशी प्रदेशमा अहिलेको सरकार बन्नुभन्दा अगाडिसम्म कोइरालाले त्यो आलोचनालाई कायमै राखे ।

एकोहोरो आफ्नै पार्टीको संस्थागत निर्णयविरुद्ध, गठबन्धनको विरुद्ध र प्रधानमन्त्रीको विरुद्धमा अभिव्यक्ति दिँदै देश दौडाहा पुगिरहेका कोइरालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले झनै पुठ दिए । नक्कली भुटानी शरणार्थी काण्ड, सुन तस्करी काण्ड, नक्कली शैक्षिक प्रमाणपत्र काण्ड, बालुवाटार जग्गा काण्डको छानविनमा सरकार लागिरहँदा एमालेले गरेको विरोधलाई नै बल पुग्ने गरी आफ्ना गतिविधि बढाउनु कोइरालाको राजनीतिक उचाईले दिँदैन थियो । तर, उनले त्यही गरे । पछिल्लो समय कोशी प्रदेशको सरकार गठनसम्म आइपुग्दा त उनले आफ्नै समूहमा रहेका काँग्रेसका महामन्त्री गगन थापादेखि, उपसभापतिसमेत रहेका धनराज गुरुङ, गुरुराज घिमिरेलगायतका नेतासम्मलाई मतलब गरेनन् । उनीहरुसँग सल्लाह नै नगरी कोशीमा एमालेसँग मिलेर आफ्नै पार्टी अविश्वासको बिउ रोपे । पार्टीका महामन्त्रीलगायत संस्थापनपक्षसँग असन्तुष्ट अरु नेताहरुसँगको अविश्वास झनै बढाउन कोइरालाको कदमले बल पुग्यो । प्रधानमन्त्री र पार्टी सभापति देउवाले नै विश्वास गर्न छोडिरहेका बेला कोइरालालाई काँग्रेसभित्रकै अरु नेताहरुले अविश्वास गर्नु उनको आगामी राजनीतिको लागि तगारो बन्न सक्छ ।

यस्तै अहिले आएर कोइरालालाई ठूलो विश्वास गरेर कोशी प्रदेशमा गठबन्धन तोडाउने एमाले अध्यक्ष ओलीले गरेको राजनीतिक ‘डिल’लाई पनि उनै कोइरालाले पन्छाइदिए । यसले विपक्षी दलसँगको विश्वासमा पनि कोइरालालाई संकट उत्पन्न हुने देखिन्छ । आगामी दिनमा उनले यो विश्वासको संकटलाई हल नगरे थप राजनीतिक उचाई प्राप्त गर्न कठिन हुने देखिन्छ । देशको प्रधानमन्त्री भएर यावत समस्या समाधान गर्ने मनसायका साथ अगाडि बढिरहेका कोइरालाले बाहिर देखाउनका लागि मात्रै होइन आगामी दिनमा प्राप्त गर्ने उद्देश्यतिर केन्द्रीत हुन जरुरी छ ।

आइतबार, १९ कार्तिक, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर