लिलाबल्लभ घिमिरे
म लिलाबल्लभ घिमिरे अनि उहाँ लिलाबल्लभ अधिकारी । म नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्ष, उहाँ कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री । उहाँ उमेरमा मभन्दा अलि अघिको मान्छे । उहाँ मोरङमा बसेर राजनीतिसँगै कानुन व्यवसायी । म धनकुटामा बसेर पत्रकारिता गर्ने । २०६४ सालमा म धनकुटाबाट विराटनगर झरेपछि मैले उहाँलाई खोजेर चिनजान गरेको कारण थियो, नाम एउटै हुनु । थर मात्र फरक यो नाम अन्य राम, श्याम, हरिजस्तै धेरैसँग मिलिहाल्दो रहेनछ । बल्लभको अगाडि अन्य नाम जोडिएका केही नाम सुने पनि लिलाबल्लभ नै नाम भएका मान्छे चाँही बजारमा कमै भेटेको छु । म पनि विराटनगर बस्न थालेपछि हामी दुई जनाका फोनमा झुक्किनेको संख्या धेरै छ । एउटा लिलाबल्लभलाई गरेको फोन अर्को लिलाबल्लभको कानमा पर्ने क्रम धेरै वर्ष अघिदेखि चल्दै आएको थियो ।
उहाँले मेरा र मैले उहाँका धेरै फोन रिसिभ गर्ने गरेको निकै वर्ष भईसकेको छ । यहाँ कतिपय फोनका बारेमा लेख्न नमिल्ला, कतिपय नलेख्दा पनि होला । तर, रमाइला केही संवाद लेख्दैछु । पहिलो पटक उहाँ मन्त्री बन्दै हुनुहुन्थ्यो । विराटनगरका पत्रकार गोकुल पराजुलीको फोन मेरो मोबाइलमा बज्यो । मैले एउटा सहकर्मीको फोन सहज रूपमा उठाएँ । उताबाट आवाज आयो, ‘माननीयज्यू बधाई छ ! कुन मन्त्रालयको शपथ लिँदै हुनुहुन्छ ?’ मलाई निकै हाँस उठ्यो । मैले हाँसो थामेर भने, ‘गृह होला जस्तो छ ।’ मेरो आवाज सुन्नेबित्तिकै गोकुलजीले थाहा पाउनुभयो र फोन काट्नुभयो । उहाँ त्यो दिन कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बन्नुभयो ।
उहाँले चुनाव जित्दा होस या मन्त्री बन्दा होस् मैले धेरै बधाई पाएको छु । हामी दुई जना भेट हुँदा पनि प्रायः एकअर्काका फोनका कुरा हुने गर्छन् । उहाँ पछिल्लो पटक मन्त्री भएपछि पनि त्यस्ता धेरै फोन आए । काम किन नभएको ? कार्यक्रममा ढिलो भयो, भेट्न समय पाउँ आदि । म पनि कुनैबेला मुख्यमन्त्रीको सचिवालयमा केही समय बसेको थिएँ । त्योबेला उहाँले मुख्यमन्त्रीसँग समय मिलाईदिन भन्दै गरिएका धेरै फोन रिसिभ गरेको सुनाउनु हुन्थ्यो ।
यो नाम उस्तै भएपछि मान्छेहरू झुक्किने हुँदो रहेछ । कतिपय गोप्य कुरा चुहावट हुने संभावना पनि उत्तिकै हुँदो रहेछ । केही वर्षअघि धरानमा एक जना लिलानाथ घिमिरे नाम गरेका पत्रकारमाथि आक्रमण भयो । प्रहरी प्रमुखकै निर्देशनमा भएको उक्त आक्रमणमा सहकर्मी घिमिरे गम्भीर घाइते बन्दा नेपाली काँग्रेस मोरङका तत्कालीन सचिव यद्धु विष्टको फोन मलाई आयो । फोन उठाउने बित्तिकै उहाँले भन्नुभयो, ‘भाइ कस्तो छ अहिले ?’ मैले कुरा बुझिन, उहाँ सम्झाउन लाग्नुभयो, ‘यस्तै हो, दोषीलाई कारबाही हुन्छ । उपचारमा कुनै कमी छ कि ?’ त्यसपछि मैले भने, ‘दाई म हैन, उहाँ धरानको लिलानाथ घिमिरे हो ।’ त्यसबेला पनि धेरैले मलाई स्वास्थ्य लाभको कामना गर्दै फोन गरेको सम्झना छ ।
कान्तिपुर दैनिकमा काम गर्दा सिन्धुलीबाट अर्का लिलानाथ घिमिरेले रिपोर्टिङ गर्नुहुन्थ्यो । पछि उहाँ काठमाडौँ बेस बनाएर लामो समय कान्तिपुरमै काम गर्नुभयो । अहिले उहाँ कानुन व्यवसायी बन्नुभएको छ । उहाँको नाम र मेरो नाममा झुक्किने मान्छेहरु पनि धेरै छन् ।
प्रसङ्ग आफ्नै प्रदेशतिरकै हो । सुटुक्क जापान गएपछि अहिले हिरासतमा पुग्नुभएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको कारण मलाई पनि धेरै फोन आएका छन् । म पत्रकार घिमिरे हो, उहाँ मन्त्री अधिकारी हो भनेर थुप्रै प्रष्टिकरण दिइरहेको छु । धेरैले एकैपटकमा कुरा बुझ्नु हुन्छ । कतिपय आफन्तले भने ‘त्यस्तो नराम्रो काम किन गरेको ?’ भन्दै सम्झाउने र झपार्ने पनि गर्नुहुन्छ । मलाई पनि यतिबेला निक्कै बेचैन भएको छ । सुरक्षा निकायमा फोन गर्दा पनि नाम मात्र भन्दा थर के हो भनेर सोध्नुहुन्छ । लिलाबल्लभको फोन आउँदा झस्कने गरेको उहाँहरु भन्नुहुन्छ । लिलाबल्लभ मात्र नभन्नु है, थर पनि भन्नु भनेर जिस्क्याउनु हुन्छ । हुन पनि लिलाबल्लभ नाम अहिले चर्चामा छ । कतिपय मिडियामा मन्त्री लिलाबल्लभ घिमिरे नै भनेर समाचार आउँछ ।
अरू नाममा कन्फ्युजनमा परिरहेका छन् । म भने माननीय लिलाबल्लभ अधिकारीलाई कसले र यसरी कसले झुकाउन सक्यो होला भनेर कन्फ्युजनमा छु । मलाई लाग्दैन, लिलावल्लभ अधिकारी झुक्किनु भयो भनेर । उहाँ लिलाबल्लभ पनि झुक्किनु भएको हो भने त म लिलाबल्ललाई दिउँसै बेचिदिन्छन् । एउटा मन्त्री, कानुनको ज्ञाता । सबै कुरा थाहा छ, आफ्नै क्याविनेटको स्वीकृतिविना विदेश हुरिन्छ । संघीय सरकार त परको कुरा । हङकङ पुगेर आफू फसेको थाहा पाउँछ । तर, टोकियोतिर हानिन्छ । कसरी विश्वास गर्ने लिलाबल्लभ अधिकारीलाई यो कुरा थाहा थिएन भनेर । कोशी सरकारको गृहमन्त्री मात्र हैन, कानुन मन्त्री पनि उहाँ नै । यति सानो कुरासमेत थाहा पाउनु भएन भने उहाँले कस्तो वकालत गर्नुभयो ? कसरी मन्त्रालय चलाउनु भयो ?
अधिकारीले जापान जान किन मरिहत्ते गर्नुभयो भन्ने प्रश्नको उत्तर अहिलेसम्म बाहिर आएको छैन । उहाँले पदबाट राजीनामा दिनुभयो । पार्टीले साधारण सदस्य समेतबाट निलम्बन ग¥यो । प्रहरी पक्राउसमेत ग¥यो । भोलि मुद्दा चल्ला । तर, केका लागि उहाँले यो सबै गर्नु भयो त ? मात्र ३० लाखका लागि ? वा कुनै देशमा कसैसँंग दुई दिन घुमेर रमाइलो गर्नका लागि ? कि लहरो तान्दा पहरो त गर्जने हैन ? त्यसतर्फ पनि अनुसन्धान तेर्सनु आवश्यक छ ।