विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दुई कारोबार दिन सामान्य अंक बढेर बन्द भएका नेप्से यस दिन ५० अंकभन्दा बढीले घटेर बन्द भएको हो ।
मंगलबार नेप्से परिसूचक ५१.११ अंक घटेर २७०२.६५ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.५२ अंक र सेन्सेटिभ इण्डेक्स २.७० अंक घटेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ११ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको १ लाख ५ हजार ८२७ पटकको कारोबारमा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको २ करोड २५ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्से घटेपनि यस दिन एक स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । यस दिन ङादी ग्रुप पावरको शेयरमूल्य सर्वाधिक ९.२५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४६ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन समृद्धि फाइनान्सको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको करिब २५ करोडको शेयर किनबेच भएको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन हाइड्रोपावर उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।