एमाले मोरङ अधिवेशन : ओली टिमलाई ढकाल टिमको टक्कर

विराटनगर । सहमतिबाट नेतृत्व चयन गर्न र गुट तथा प्यानल नबनाउन नेतृत्वले दिएको निर्देशन अवज्ञा गर्दै नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट नेतृत्व चयनको लागि दुई वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी ओलीसहित नेतााहरुको समर्थन पाएका राजकुमार ओझा र एमालेका सल्लाहकार रहेका विनोद ढकालको समर्थन पाएका अजम्बर राईको नेतृत्वमा सोमबार छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी दर्ता भएको हो ।शनिबार सुरु भएको एमाले अधिवेशनको आइतबार नै निर्वाचन प्रक्रिया सुरु गर्ने कार्यतालिका थियो । नेतृत्वले सहमतिमा ओझालाई अध्यक्ष बनाउन दबाब बढाउँदै निर्वाचन प्रक्रिया धकेलेको थियो । निर्वाचनमा गएमा राई नेतृत्वको टिमले जित हात पार्ने संभावना देखिएपनि नेताहरुले ओझाको नेतृत्वमा सहमति खोज्न दबाब बढाएका थिए । तर, सहमति जुट्ने अवस्था नभएपछि सोमबार अपरान्ह उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचनमा प्यानल नबनाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अध्यक्ष केपी ओलीसहितका नेताहरुले नै दबाब दिएका थिए । अधिवेशन उद्घाटनमा बोल्ने उपाध्यक्ष रामबहादुर थापासहितका नेताहरुले ‘गुटबन्दी सह्य नहुने’ भन्दै सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । ओलीसहित नेताहरुको इच्छा राजकुमार ओझालाई अध्यक्ष बनाउने थियो ।

तर, इतर पक्षले लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै ओझाको नाममा सहमति नजनाएपछि निर्वाचन निश्चित भएको हो । अझै पनि निर्वाचन पर धकेल्ने प्रयास संस्थापन पक्षले गरिरहेको इतर पक्षका नेताहरुले जनाएका छन् । अधिवेशननका प्रतिनिधिमा संस्थापन पक्षले आफ्नो समूहसँग ६० प्रतिशत प्रतिनिधि रहेको दावी गर्दै आएको छ भने इतर पक्षले पनि आफूसँग ६० प्रतिशत नै रहेको दाबी गरेको छ ।

अध्यक्ष ओलीसहित उपाध्यक्ष गुरु बराल, पार्टीका प्रदेश इञ्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, स्थायी समिति सदस्यहरु हिक्मतकुमार कार्की, भानुभक्त ढकालसहित नेताहरुको समर्थन ओझालाई छ । प्रदेशसभाको पहिलो कार्यकालमा सांसद र राज्यमन्त्री भएका ओझाले आफूलाई पार्टीको आधिकारिक उम्मेदवार बताउँदै आएका छन् । सो टिमबाट उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।

उपाध्यक्ष भुजेल र सचिव थापा अधिवेशन गर्ने संगठन कमिटिमा पनि सोही जिम्मेवारीमा थिए । कार्की भने विराटनगर महानगरको उपाध्यक्ष थिइन् । महानगर अध्यक्ष सागर थापालाई कार्वाही गरेर एमालेले महानगर कमिटिमा नयाँ समिति बनाएपछि कार्की जिम्मेवारीमा थिइनन् । एमाले नेताहरुका अनुसार कार्कीलाई एमाले अध्यक्ष ओलीले उपाध्यक्ष बनाउन निर्देशन दिएका थिए । तर, स्थानीय नेताहरुले भुजेललाई उपाध्यक्ष बनाउने तयारी गरेकोले संकटमा थिए ।

नेता विनोद ढकालसँग पनि निकट सम्बन्ध रहेकी कार्कीले आइतबार आफू आफू उम्मेदवार नबन्ने बताएकी थिइन् । तर, सोमबार नेताहरुकै दबाबमा उनलाई उपसचिवको उम्मेदवारी बनाइएको स्रोतले जनाएको छ । उनलाई निर्विरोध बनाउन एमाले उपाध्यक्ष गुरु बरालसहितका नेताहरुले अझै पहल जारी राखेको बताइन्छ ।

यस्तै नेता विनोद ढकाल पक्षबाट अध्यक्षको उम्मेदवार बनेका अजम्बर राई पुराना नेता हुन् । उनी जिल्ला समन्वय समितिको सभापति छन् । यो टिमलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको बताइन्छ । केहि समय अगाडि भण्डारी विराटनगरमा आएर सयौं एमालेको नेता तथा कार्यकर्तालाई भेट गरेकी थिइन् । भेटको संयोजन ढकालले नै गरेका थिए भने त्यसको व्यवस्थापन अहिले ढकालको समर्थन रहेको राईको टिमबाट सचिवका उम्मेदवार रहेका सोमराज थापाले गरेका थिए ।
यो टिमबाट उपाध्यक्षको उम्मेदवार रहेका सागर थापा एमाले महानगर कमिटिका पूर्व अध्यक्ष हुन् । उनलाई मानगढ खानेपानी आयोजनाको निर्वाचनमा जिल्ला पार्टीले तोकेको उम्मेदवारलाई सहयोग नगरेको आरोपमा कार्वाही गरिएको थियो । सचिवका उम्मेदवार थापा लामो समय मानबअधिकारको क्षेत्रमा सक्रिय भएर केहि समय अगाडि एमालेको उपसचिव बनेका थिए । यस्तै उपसचिवको उम्मेदवार रहेका सन्तोष वान्तवा बहालवाला उपसचिव हुन् भने उषा झा जिल्ला समन्वय समिति मोरङकी उपसभापति हुन् ।

पाँच पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमितिको दोब्बर बढिको मनोनयन दर्ता भएको निर्वाचन समितिले बताएको छ । तर, पदाधिकारीबाहेक अन्यको हकमा सर्वसम्मत बनाउने प्रयास भइरहेको बताइन्छ ।

मोरङमा नेता विनोद ढकालको मोरङमा राम्रो प्रभाव छ । लामो समय केपी ओलीकै सहयोगी रहेका उनी कुनै समय देशभर माधब नेपाल पक्षधरले पार्टीको नेतृत्व हाँक्दा मोरङ एमालेको सचिव भएका थिए । त्यसबेला काभ्रेमा गोकुल बाँस्कोटा र मोरङमा ढकालसहित सीमित व्यक्ति मात्र ओली पक्षबाट जिल्लाको नेतृत्वमा रहेको एमाले नेतााहरु बताउँछन् । उनै ढकाल गत प्रदेश अधिवेशनयता ओली र उनको टिमका नेताहरूसँग एक्लै भिडिरहेका छन् ।

एमालेको २०८० असोजमा भएको प्रदेश अधिवेशनबाट भने ढकाल ओली पक्षबाट अलग भएका हुन् । पार्टीका केन्द्रीय सदस्य रहेका उनी प्रदेश अध्यक्षमा उम्मेदवार बन्दा ओलीले घनश्याम खतिवडालाई समर्थन गर्न निर्देशन दिएपछि सबै नेतााहरु खतिवडाकै पक्षमा लागेका थिए । तर, पनि उनले खतिवडासँगको प्रतिस्पर्धामा सम्मानजनक मत प्राप्त गरेका थिए ।

मोरङको अधिवेशनमा भूगोल र जनवर्गीय संगठनबाट आउने पदाधिकारीमा ढकाल पक्षको वर्चश्व देखिएपछि संस्थापन पक्षले एकलौटी ४६ जनालाई प्रतिनिधि मनोनित गरेको छ । जिल्ला अध्यक्ष पदाधिकारीलाई पनि जानकारी नदिई इञ्चार्ज जीवन घिमिरेले मनोनितहरुको लिष्ट तयार पारेको आरोप छ । त्यसबारे आइतबार बन्दसत्रमा विवाद भएको थियो । सागर थापासहितका नेताहरुले नाराबाजी गरेपछि बन्दसत्र नै स्थगित भएको थियो ।

ओलीलाई काउन्टर दिइरहेका ढकालले आफूलाई ओली पक्षकै नेता भनाउने गरेका छन् । ‘अध्यक्षको नाम लिएर तलका केहि व्यक्तिले मनपरी गर्न खोजिरहेको’ उनले बताउने गरेका छन् । जिल्ला अधिवेशनमा जबजकै मार्गनिर्देशन अनुसार लोकतान्त्रिक प्रतिस्पर्धा हुन लागेको भन्दै उनले कोहि पनि अध्यक्ष वा अर्को पक्षको उम्मेदवार नभएको जिकिर गरे ।

ढकालको टिमलाई प्रदेशका सिनियर नेताहरुमध्ये स्थायी समिति सदस्य भीम आचार्यको समर्थन रहेको बताइन्छ । तर, उनी अहिले विरामी रहेकोले अधिवेशन स्थलमा देखिएका छैनन् । त्यसबाहेक सबै नेताहरु एकातिर हुँदा ढकाल एक्लैले टिम बनाएर मैदानमा उत्रिएका छन् । उनले प्रदेश अधिवेशनमा आफू पराजित भएको बदला मोरङबाट लिने दाउमा रहेको देखिन्छ । यसअघि उदयपुर र तेह्रथुममा अध्यक्ष ओलीले समर्थन गरेका उम्मेदवार अध्यक्षमा पराजित भएका थए ।

पार्टीका इमान्दार र बेइमान नेताहरुबीच प्रतिस्पर्धा हुन लागेको बताउँदै उपाध्यक्षका उम्मेदवार सागर थापाले कार्यकर्तालाई पेल्ने, अनावश्यक गुटबन्दी गर्ने नेताहरूलाई कार्यकर्ताले नै यसपटक सबक सिकाउने दावी गरे । सत्ताको आडमा निर्वाचनलाई प्रभावित पार्ने खेल भइरहेको भन्दै उनले जवजको मार्गदर्शन अनुसार अगाडि बढ्न नेतृत्वलाई आग्रह गरेका छन् ।

जिल्ला नेतृत्वका लागि ओली र भण्डारी निकटको प्यानल बनेको विषयलाई अस्वीकार गर्दै प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पूर्वराष्ट्रपति भण्डारीलाई अनावश्यक रुपमा विवादमा ल्याउन खोजिएको दावी गरे । निर्वाचनमा संस्थापन र इतर पक्ष रहेको स्वीकार गर्दै उनले पार्टीको निर्णय कार्यान्वयन गर्न इमान्दारितापूर्वक लाग्नेहरुले आफूलाई संस्थापन भनेको भन्दै ओझा पार्टीको आधिकारिक उम्मेदवार भएको संकेत गरे । ‘पार्टीलाई देखाइदिन्छु, चखाइदिन्छु, मान्दिनँ भन्ने इतर होलान्’ उनले भने ।

एमाले अधिवेशको निर्वाचनको निर्वाचनका लागि ९११ जना मतदाता छन् । जसमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् । एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । निर्वाचन आयोगका प्रमुख सुरेशलाल श्रेष्ठले मंगलबार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिए ।

मङ्गलबार, २० फागुन, २०८१, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर