संघर्षको कथा : कुनै फिल्मभन्दा कम छैन सरस्वतीको संघर्ष

विराटनगर । अहिले नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को निकै चर्चा छ । सन्तानका लागि बुबाले गरेको दुःख देखेर फिल्म हेर्नेहरूले आँसु झारिरहेका छन् । यो फिल्मको पीडा भन्दा कम छैन विराटनगरकी सरस्वती ओझाको संघर्ष ।

विस. २०३६ सालमा धनुषामा जन्मेकी सरस्वतीको संघर्ष कहालीलाग्दो छ । जीवन चलाउन उनले धेरै हन्डर र ठक्कर खाइन् । एकपछि अर्काे काम गरेकी उनले जीवनको मध्यान्तरमा भने ठूलो बज्रपातको सामना गर्नुप¥यो ।एक दाजु र एक जना भाइ भएकी उनले आधारभूत तहको पढाइ भने धनुषामै गरेकी थिइन् । कक्षा ५ सम्मको पढाई सकेपछि उनी मावल (मामाघर) मा बसेर पढ्न थालिन् । उनको मामाघर सिन्धुली हो । सिन्धुलीको बेलघारी माध्यमिक विद्यालयमा कक्षा १० सम्मको पढाई नसक्दै उनको विवाहको कुरा चल्यो । त्यति बेलाको ‘फलामे ढोका’ भनेर चिनिने एसएलसी परीक्षासमेत उनले दिन पाइनन् ।

‘सासू आमा (हाल) कृष्ण ओझा र मेरोसमेत नाता पर्ने एक जना हजुरबुबाले बुबासँग विवाहको कुरा गर्नुभएछ,’ उनले भनिन्, ‘बुबाले पनि राम्रो परिवार भनेर विवाह गरिदिने स्वीकृति दिनुभएछ । मैले एसएलसी परीक्षा नै दिन नपाइ विवाह भइहाल्यो ।’ बुबा माधवप्रसादले पढाउने सर्तमा छोरीको विवाह गर्दिएका थिए । उनको २०५४ सालमा विवाह भएको हो । केटा पक्षलेसमेत पढाउने सर्त स्वीकारेका थिए । १७ वर्षकै उमेरमा दीपक ओझासँग उनको विवाह भयो । दीपक भने त्यतिबेला २२ वर्षका थिए । विवाह गरेपछि मात्रै उनले टेस्ट र एसएलसी परीक्षा दिइन् । ‘विवाह गरेकै वर्ष गर्भ रह्यो,’ उनले भनिन्, ‘सासू आमा पनि बिरामी हुनुहुन्थ्यो । उच्च शिक्षा पढ्ने अवसर मिलेन ।’

बुबासँग गरेको बाचाअनुसार ससुरा कुमार ओझाले विराटनगरकै कन्या क्याम्पसमा कक्षा ११ मा उनलाई भर्ना गरिदिए । तर, उनले पारिवारिक कारणले पढ्न भने पाइनन् । बच्चा सानो भएकाले भर्ना भए पनि पढ्न नपाएको उनी बताउँछिन् । श्रीमानले सानो किराना पसल गर्थे । उनका श्रीमानका चार जना दाजुभाइ हुन् । सरस्वती साइँली बुहारी हुन् । छोरी २ वर्षकी भएपछि केही गर्नुपर्छ भन्ने सोच आएको उनले बताइन् ।

विराटनगर बजारमा बसेपछि केही नगरी बाचिँदैन भन्ने लागेर कामको खोजीमा लागेको उनले बताइन् । ‘काम खोज्ने क्रममा जहदा गाविसका एक जना कर्मचारीसँग ससुरा बुबाको चिनजान रहेछ,’ उनले भनिन्, ‘भातिगंजको रामजानकी स्कुलमा गाविसको स्रोतबाट पैसा पाउने गरी पढाउन थालें ।’ उनको तलब भने थोरै थियो । एक महिना पढाउँदा उनले ५ सय रुपैयाँ पाउँथिन् । बेरोजगार हुनुभन्दा ५ सय रुपैयाँ पनि उनका लागि ठूलो थियो । किराना पसल चल्न छोडेपछि श्रीमान् दीपकले पनि राठी ग्रुपमा जागिर गर्न थाले । त्यतिबेला व्यापारको भन्दा जागिरको महत्व रहेको उनी बताउँछिन् ।

दीपकको तलब भने सरस्वतीको भन्दा पाँच गुणा बढी थियो । दीपकको तलब मासिक २५ सय थियो । २ वर्षसम्म उनले त्यहाँ पढाइन् । दरबन्दी नभएपछि उनको जागिर २ वर्षभन्दा बढ्ने अवस्था बनेन । दरबन्दीका लागि त्यति बेला राजनीतिक दलले भागबन्डा गरेर कोटा लिने गरेका थिए । कुनै दलमा नलागेको र सोर्सफोर्ससमेत नभएकाले पहिलो जागिर गुमेको उनले बताइन् ।

खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखानजस्तै उनले धेरै समय खाली बस्न भने परेन । विद्यालयमा काम गर्दागर्दै एक जना मेडिकल लाइनकै व्यक्तिसँग उनको भेट भएको थियो । विद्यार्थीहरूलाई पोलियो थोपा खुवाउने कार्यक्रममा भेटाएपछि ती व्यक्तिले नयाँ जागिरको प्रस्ताव गरेको उनले बताइन् ।

विराटनगरकै रंगेली रोडमा विराट क्लिनिक भारतीय डाक्टर सञ्जय रायले चलाउँथे । उनले त्यही क्लिनिकमा काम गर्न थालिन् । तलब पनि उनको ४ गुनाले बढ्यो । उनको तलब २ हजार पुग्यो । काम भने बिरामीको नाम मात्रै इन्ट्री गर्ने थियो । राय पायल्स रोग विशेषज्ञ हुन् । उनको क्लिनिक राम्रो चलेको थियो । तर, नेपाली नागरिकता नभएको भनेर विरोध भएपछि डाक्टर रायले क्लिनिक नै बन्द गरे । दोस्रो जागिर पनि सरस्वतीले गुमाइन् ।

२ वर्षसम्म काम गरेपछि फेरि उनी बेरोजगारी भइन् । काम नगरी घरमा बस्न गाह्रो भएको उनले बताइन् । छोरी पनि विद्यालय जान थालेकी थिइन् । त्यो जागिर सकिएपछि केबुल नेटवर्कमा मार्केटिङ लागि जागिर खुलेको उनले एउटा पत्रिका पढिन् । विराटनगरकै दिनेश सुवेदीले केबल चलाउँथे । उनले पत्रिकाको विज्ञापन हेरेकै भोलिपल्ट केबुलको अफिसमा सम्पर्क राखिन् ।

अन्तर्वार्तामा उनी पास भइन् । भोलिपल्टदेखि नै उनले काम गर्न थालिन् । उनलाई विराटनगरस्थित ७ नम्बर वडामा पैसा उठाउने जिम्मा दिइएको थियो । घरपरिवार चलाउन जे काम भेटे पनि गर्ने भन्ने मनस्थितिमा उनी पुगेकी थिइन् । त्यहाँ उनको तलब भने तोकिएको थिएन । ६ प्रतिशत कमिसन तोकिएको थियो । उनले महिनामा ८–१० लाख रुपैयाँसम्म कलेक्सन गर्थिन् । महिनामा ६० देखि ७० हजार पैसा कमिसनबाट लिने गरेको उनले बताइन् । २०६२ सालदेखि उनी राजनीतिमा समेत लागिन् ।

केवलमा काम गर्न थालेपछि माओवादीमा आबद्ध भएका धेरै मान्छे भेटिन् र उनीहरूकै जोड बलबाट राजनीतिमा सक्रिय भएको उनले बताइन् । जागिरमासमेत मद्दत पुग्ने भएपछि उनी त्यही पार्टीमा आबद्ध भइन् । सदस्यता लिँदा पनि लुकेर लिएको उनले बताइन् ।

अखिल नेपाल ट्रेड युनियन महिला विभागमा उनले काम गरिन् । मजदुर महिलाको नेतृत्व उनले गरिन् । २०७४ सालको निर्वाचनमा उनलाई पार्टीले विराटनगर–८ को वडाध्यक्षको टिकट दिएको थियो ।

तर, त्यो निर्वाचन उनका लागि अनुभव मात्रै बन्यो । चुनावमा उम्मेदवार भएपछि समय दिन नसकेर जागिर छोड्नुप¥यो । १५/१६ वर्ष खाएको जागिर छोडेर निर्वाचनमा होमिएकी उनी पराजित भइन् ।

पार्टीकै कामको सिलसिलामा उनी काठमाडौं गएकी थिइन् । ‘काठमाडौंमा भानिज दाजु जब सेन्टर चलाएर बस्नुहुन्थ्यो,’ उनले भनिन्, ‘त्यहाँ गएर मलाई जागिर चाहियो भनेर दाइलाई बताएँ । उहाँले जब सेन्टर खोल्न सुझाव दिनभयो ।’ सरस्वतीलाई दाइले प्राविधिकरूपमा समेत सहयोग गरे । विराटनगर औद्योगिक क्षेत्रसमेत भएकाले त्यहाँ जब सेन्टर चल्छ भन्ने उनमा आत्मविश्वास थियो ।

विराटनगरमा उनलाई धेरैले चिन्नसमेत थालेका थिए । लामो समय बसोबास भएको र विभिन्न ठाउँमा जागिर खाएकोदेखि मार्केटिङसमेत गरेको अनुभव उनमा थियो । राजनीतिमा लागेकाले समेत उनलाई चिनजान बढाउन सहज थियो । जब सेन्टर भनेको मध्यस्थकर्ताको काम हो र यसलाई अगाडि बढाउन सक्छु भन्ने हिम्मत आएको उनले बताइन् ।

सप्तकोसी जब सेन्टर काठमाडौं मै दर्ता गरेर उनी विराटनगर फर्किन् । आफैं मालिक भएर सञ्चालन गरेको यो उनको पहिलो व्यवसाय हो । सुरूको महिना नै उनले सोचेभन्दा राम्रो कमाइन् । उनले ४ जना कर्मचारी राखेकी थिइन् । कर्मचारीलाई तलब दिएर घर भाडा तिरेर पनि दुई लाख बचत भएको उनले बताइन् । ‘एक दिन साथी निलम ढुङ्गेल जागिर खोज्दै मेरै अफिसमा पुग्नुभयो । मैले तपार्इं जागिर नखानु । मलाई होटल खोल्ने सोख थियो । म तपाईंलाई सल्लाह दिन्छु होटल खोलौँ भनेपछि उहाँ पनि सहमत हुनुभयो । अनि दुवै जना भएर खाजा घर सञ्चालन गर्याैं,’ उनले भनिन् ।

जब सेन्टरसमेत भएकाले उनले होटलमा धेरै समय दिन पाइनन् । निलमले एक्लै एक वर्ष होटल चलाइन् । नाफा आधाआधा भनेर उनीहरूले होटलमा लगानी गरेका थिए । एक्लै खट्दा निलमलाई कम नाफा भयो । उनीहरूले एक जना स्टाफ राखेका थिए । निलमले एनजीओमा काम गर्ने भएपछि सरस्वतीले एक्लै होटल चलाउनु पर्ने बाध्यता आइलाग्यो । उनीहरूबीच कुनै मनमुटाव भने भएन ।

उनको होटलको नाम भने लाफिङ खाजा घर हो । जब सेन्टर कर्मचारीले चलाउँथे । ‘दुईतिर नै चलाउँदा घरपरिवार राम्रो चलिरहेको थियो,’ उनले भनिन्, ‘त्यही बेला कोरोना आयो । कोरोनाले मान्छेसँगको सम्बन्ध टुटायो । दुवैतिर मान्छेसँग प्रत्यक्ष भेटघाट हुने खालको व्यवसाय थियो ।’

२ वर्ष कोरोनाले असर गरेको उनले बताइन् । जब सेन्टर चलाउन नसक्ने भएपछि उनले बन्द गरिन् । होटल चल्छ भन्ने लागेर त्यतै ध्यान दिएको उनले बताइन् । सुरूमा उनले सेलरोटी पकाउने गर्थिन् । विराटनगरमा सेलरोटी बेच्ने आफू पहिलो भएको उनको दाबी छ । खीर र लाफिङजस्ता खाने कुरा उनी बेच्छिन् । अन्य पसलभन्दा आफ्नोमा सस्तो भएको उनको दाबी छ । खाने कुरा ताजा बनाएर दिने गरेकाले कर्मचारीहरूको भिड लाग्ने गरेको उनले बताइन् । बैंकका तथा सरकारी कार्यालयका कर्मचारी धेरै जना खाजा खान आउने गरेको उनले बताइन् ।

उनले दुई जना कर्मचारी राखेकी छन् । अर्डर गरेको ठाउँमा उनी आफैं खाजा पु¥याउन जान्छिन् । होटलले घर परिवार चलिरहेकै बेला गत वर्ष उनले ठूलो पीडा भोग्नु परेको छ । एक वर्ष भित्रमा पीडामाथि पीडा थपिएको उनले बताइन् । एकै वर्षमा उनका श्रीमान, कर्म दिने बुबा र जन्मदिने बुबा गरेर तीन जनाको निधन भयो । ‘मलाई सहन नसक्नेगरी ठूलो बज्रपात आइलाग्यो,’ उनले भनिन्, ‘तर पनि मानिस हो, सन्ततिका लागि पनि पीडालाई शक्तिमा बदलेर पनि काम गर्नुपर्दाे रहेछ ।’ बज्रपातलाई सहेर उनले आफ्नो व्यवसायलाई भने निरन्तरता दिएकी छन् । होटल नै जीविकोपार्जन गर्ने माध्यम रहेको उनले बताइन् । उनको एक छोरा र एक छोरी छन् ।

सोमबार, ०३ मंसिर, २०८१, बिहानको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर