एमाले मोरङ अधिवेशन : दुई प्यानलको उम्मेदवारी दर्ता, भोलि बिहान ९ बजेदेखि मतदान

विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दुई पक्षको प्यानलले नै उम्मेद्बारी दर्ता गराएका छन् ।

संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् ।

यस्तै नेता विनोद ढकाल पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले मनोनयन दर्ता गरेका छन् । १६५ सदस्यीय कार्यसमितिको लागि दोब्बर बढिको मनोनयन दर्ता भएको बताइएको छ ।

निर्वाचनका लागि ९११ जना मतदाता छन् । जसमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् । एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । निर्वाचन आयोगका प्रमुख सुरेशलाल श्रेष्ठले मंगलबार बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिए ।

निर्वाचनमा प्यानल नबनाउन र सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न अध्यक्ष केपी ओलीसहितका नेताहरुले दबाब दिएका थिए । अधिवेशन उद्घाटनमा बोल्ने उपाध्यक्ष रामबहादुर थापासहितका नेताहरुले गुटबन्दी स्वीकार्य नहुने भन्दै सर्वसम्मत रुपमा नेतृत्व छान्नुपर्ने ओलीको सन्देश सुनाएका थिए । ओलीसहित नेताहरुको इच्छा राजकुमार ओझालाई अध्यक्ष बनाउने थियो ।

तर, इतर पक्षले लोकतान्त्रिक प्रक्रियामा जाने भन्दै ओझाको नाममा सहमति नजनाएपछि निर्वाचन निश्चित भएको हो । अझै पनि निर्वाचन पर धकेल्ने प्रयास संस्थापन पक्षले गरिरहेको इतर पक्षका नेताहरुले जनाएका छन् । अधिवेशननका प्रतिनिधिमा संस्थापन पक्षले आफ्नो समूहसँग ६० प्रतिशत प्रतिनिधि रहेको दावी गर्दै आएको छ भने इतर पक्षले पनि आफूसँग ६० प्रतिशत नै रहेको दाबी गरेको छ ।

संस्थापन पक्षको तुलनामा इतर पक्षका नेता विनोद ढकालको मोरङमा राम्रो प्रभाव छ । लामो समय केपी ओलीकै सहयोगी रहेका उनी कुनै समय देशभर माधब नेपाल पक्षधरले पार्टीको नेतृत्व हाँक्दा मोरङ एमालेको सचिव भएका थिए । त्यसबेला काभ्रेमा गोकुल बाँस्कोटा र मोरङमा ढकालसहित सीमित व्यक्ति मात्र ओली पक्षबाट जिल्लाको नेतृत्वमा रहेको एमाले नेतााहरु बताउँछन् ।

एमालेको गत वर्ष भएको प्रदेश अधिवेशनबाट भने ढकाल ओली पक्षबाट अलग भएका हुन् । पार्टीका केन्द्रीय सदस्य रहेका उनी प्रदेश अध्यक्षमा उम्मेदवार बन्दा ओलीले घनश्याम खतिवडालाई समर्थन गर्न निर्देशन दिएपछि सबै नेतााहरु खतिवडाकै पक्षमा लागेका थिए । तर, पनि उनले खतिवडासँग राम्रो प्रतिस्पर्धा गरेका थिए ।

भूगोल र जनवर्गीय संगठनबाट आउने पदाधिकारीमा ढकाल पक्षको वर्चश्व देखिएपछि संस्थापन पक्षले एकलौटी ४६ जनालाई प्रतिनिधि मनोनित गरेको छ । त्यसबारे आइतबार बन्दसत्रमा विवाद पनि भएको थियो । सागर थापासहितका नेताहरुले नाराबाजी गरेपछि बन्दसत्र नै स्थगित भएको थियो ।

सोमबार, १९ फागुन, २०८१, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर