एमाले मोरङको नेतृत्वको लागि मनोनयन सुरु

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ ।

निर्वाचन कमिटीले मनोनयन फारम वितरण गरेसँगै आकांक्षी उम्मेदवारहरू धमाधम फारम भर्न थालेका छन् ।

जिल्ला कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १६५ जनाको लागि हुनेछ । निर्वाचन कमिटीले माइकिङ गरेर उम्मेदवारी दर्ता सुरु गर्ने जानकारी दिएको थियो ।

उम्मेदवारी दर्ता शुल्क सबैलाई समान ५०० रुपैयाँ तोकिएको छ । त्यसमा थप सहयोग शुल्क पनि लिने बताइएको छ । सहयोगसहित अध्यक्षको दुई हजार र सदस्यको एक हजार शुल्क राखिएको छ ।

निर्वाचन समितिले सोमबार बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्ने निर्वाचन तालिका प्रकाशन गरेकोमा पौने १२ बजे मात्र नामावली सार्वजनिक भएको थियो । खासगरी जिल्ला समितिले मनोनित गरेका ४६ जना प्रतिनिधिको विषयमा विवाद हुँदा आइतबार बन्दसत्रमा नाराबाजी र होहल्ला भएको थियो ।

निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् ।

अधिवेशनमा नेतृत्वको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट राजकुमार ओझको प्यानल मैदानमा उत्रिएको छ भने विनोद ढकालले नेतृत्व गरेको समूहबाट अजम्बर राईको प्यानल मैदानमा उत्रने तयारी छ । ढकाल पक्षलाई पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको समर्थन रहेको बताइन्छ ।

ओझाको प्यानलबाट उपाध्यक्षमा शान्तिकुमारी लिम्बू, सचिवमा रविन थापा, उप–सचिवमा एर्जालाल राजवंशी र रिता न्यौपाने उम्मेदवार बन्ने बताइएको छ । ओझा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोजेका उमेद्वार भएकोले उनलाई पार्टीका प्रदेश इञ्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, स्थानीय समिति सदस्यहरु हिक्मतकुमार कार्की, भानुभक्त ढकालसहित सबै नेताहरुको समर्थन रहेको छ ।

अध्यक्षका अर्का प्रतिस्पर्धी राईको प्यानलबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उप–सचिवमा उषा झा र सन्तोष बान्तवा उम्मेद्वार बन्ने भएका छन् । राईलाई विनोद ढकाल बाहेक अन्य नेताहरुले खुलेर समर्थन गर्न सकेका छैनन् ।

सोमबार, १९ फागुन, २०८१, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर