एमाले मोरङको मतदाता नामावली सार्वजनिक : मनोनितको विवाद कायमै

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम अनुसार ४ घण्टा ढिलो गरि मतदाता नामवली सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले सोमबार बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्नेसहति निर्वाचन तालिका प्रकाशन गरेकोमा पौने १२ बजे मात्र सार्वजनिक भएको हो ।

खासगरी जिल्ला समितिले मनोनित गरेका ४६ जना प्रतिनिधिको विषयमा विवाद हुँदा आइतबार बन्दसत्रमा नाराबाजी र होहल्ला भएको थियो । संस्थापन पक्षले समितिबाट निर्णय नगराई एकलौटी प्रतिनिधि मनोनित गरेको भन्दै इतर पक्षका सागर थापाको नेतृत्वमा नारावाजी भएपछि बन्दसत्र स्थगित गरिएको थियो ।

निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर्फ १२० र मनोनित ४६ गरी जम्मा ९११ प्रतिनिधि कायम भएका छन् । मनोनित ४६ जनाको विषयमा जिल्ला उपसचिव सोमराज थापासहित २३ जना सचिवालय सदस्यहरुले उजुरी दिएका छन् ।

निर्वाचन सम्पन्न गर्न एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठ संयोजक रहेको ७ सदस्यीय निर्वाचन कमिटि बनाइएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दूई उपसचिवसहित १६५ सदस्यीय जिल्ला कमिटि निर्वाचित हुनेछन् ।

निर्वाचन कमिटीले उम्मेदवारी दिएर नाम फिर्ता लिन चाहनेहरूलाई मनोनयन शुल्क फिर्ता दिने जनाएको छ । एमाले मोरङको १० औं अधिवेशन शनिबारबाट सुरु भएको हो ।

अधिवेशनमा नेतृत्वको लागि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट राजकुमार ओझको प्यानल मैदानमा उत्रिएको छ भने विनोद ढकालले नेतृत्व गरेको समूहबाट अजम्बर राईको प्यानल मैदानमा उत्रने तयारी छ । ढकाल पक्षलाई पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको समर्थन रहेको बताइन्छ ।

पार्टी नेतृत्वले सहमतिबाट नेतृत्व छान्न निर्देशन र दबाब दिएको भएपनि त्यो संभावना नरहेको नेताहरुले बताएका छन् । प्रतिनिधिहरुसँग भोट मागिरहेका ओझाले आफू पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी अजम्बर राईले लोकतान्त्रिक विधिबाट कार्यकर्ताले नेतृत्व छान्ने बताउँदै कोहि पनि आधारिक र अनाधिकारिक उम्मेदवार नभएको बताए ।

ओझाको प्यानलबाट उपाध्यक्षमा शान्तिकुमारी लिम्बू, सचिवमा रविन थापा, उप–सचिवमा एर्जालाल राजवंशी र रिता न्यौपाने उम्मेदवार बन्ने बताइएको छ । ओझा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोजेका उमेद्वार भएकोले उनलाई पार्टीका प्रदेश इञ्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, स्थानीय समिति सदस्यहरु हिक्मतकुमार कार्की, भानुभक्त ढकालसहित सबै नेताहरुको समर्थन रहेको छ ।

अध्यक्षका अर्का प्रतिस्पर्धी राईको प्यानलबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उप–सचिवमा उषा झा र सन्तोष बान्तवा उम्मेद्वार बन्ने भएका छन् । राईलाई विनोद ढकाल बाहेक अन्य नेताहरुले खुलेर समर्थन गर्न सकेका छैनन् ।

ढकाल पहिले अध्यक्ष केपी ओलीका विश्वासपात्र थिए । तर, एमाले कोशीको अधिवेशनमा ओलीले घनश्याम खतिवडालाई समर्थन गरेपछि उनी पराजित भए । त्यसपछि उनले प्रदेशभरी छुट्टै समूह सञ्चालनको प्रयास गरिरहेका छन् ।

सोमबार, १९ फागुन, २०८१, दिउँसोको १२:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर