सम्पादकीय
नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट सौर्य उर्जा उत्पादन गर्नका लागि ६४ कम्पनी छनोट गरेको छ । प्राधिकरणले देशभरका १२७ सौर्य उर्जा उत्पादक कम्पनीहरुमध्ये ६४ वटाको वित्तीय प्रस्ताव पारित गर्दै सौर्य उर्जा निर्माणको लागि उनीहरुलाई अनुमति दिने प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्राधिकरणले २६३ स्थानमा १२७ सौर्य उर्जा उत्पादक कम्पनीको प्राविधिक प्रस्ताव पारित गरेको थियो । प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा कम मूल्यमा विद्युत् बिक्री गर्ने उत्पादकलाई मात्रै अनुमति दिने प्रस्ताव गरेको छ । छनोटमा परेका कम्पनीहरुले प्रतियुनिट ५ रुपैयाँ ४० पैसादेखि ५ रुपैयाँ ५४ पैसामा बिक्री गर्ने प्रस्ताव स्वीकृत भएको हो । प्राविधिक र वित्तीय प्रस्ताव पारित भएका ६४ वटा कम्पनीले अब ६ महिनाभित्र परियोजना निर्माणस्थलमा विस्तृत वातावरणीय परीक्षण (आइइइ) गर्ने र त्यो रिपोर्ट स्वीकृत भएको १८ महिनामा आयेजना निर्माण सम्पन्न गर्नुपर्नेछ ।
उर्जाको माग विश्वब्यापी रुपमा बढिरहेको बेला बढ्दो माग पुरा गर्न सौर्य उर्जालाई वैकल्पिक माध्यम मानिएको छ । भविष्यको उर्जा संकट धान्न सौर्य उर्जा राम्रो विकल्प हुनसक्छ । बढ्दो जलवायु परिवर्तनको कारण जलविद्युतको उत्पादनको भविश्यबारे प्रश्न उठ्न थालेको बेला सूर्यबाट सित्तैमा पाइने उज्यालोलाई उर्जामा रुपान्तरण गर्न सके यसले विश्वमै ठूलो माग धान्न सक्ने देखिएको छ । अर्कोरित सोलार उर्जाका अन्य माध्यमभन्दा सस्तो, स्वच्छ र सुरक्षित छ । पछिल्लो ३० वर्षयता सौर्य उर्जाको उत्पादन हरेक वर्ष दुई गुणाले बढिरहेको छ । यसको लागतसमेत घट्दै गएको छ । चीन, जर्मनी, स्पेन, पोर्चुगल र अष्ट्रेलिया, अमेरिकाको केही हिस्सा र भारतको ठूलो समूह सौर्य उर्जा उत्पादनमा लागेका छन् । विद्युत उर्जामा प्रतिमेघावाट १६ देखि २० करोड खर्च हुने गरेकामा सौर्य उर्जामा प्रतिमेगावाट ६ देखि ७ करोडमै काम हुने गरेको बताइएको छ । जसले गर्दा उसको लागत कम छ । यद्यपी सौर्य उर्जाको उत्पादन राति नहुने भएकोले यसको प्रयोग दिनमा मात्र गर्न सकिन्छ ।
कोशी प्रदेशको झापामा झापा इनर्जी प्रा.लि.ले १० मेघावाट सौर्य विद्युत उत्पादन गरिरहेको छ । ८७ करोड लागतमा कम्पनीले विद्युत उत्पादन थालेको हो । जसको प्रतिमेघावट लागत ८ करोड ७ लाख परेको देखिन्छ । जबकि ठूला जलविद्युत आयोजनाको लागत पनि १६ करोडभन्दा बढि प्रतिमेघावाट पुगेको देखिन्छ । अब सुनसरी, झापा र संखुवासभामा थप ५ वटा सौर्य विद्युत परियोजना निर्माण हुने भएका छन् । सुनसरीको कुसाहामा सोलारिज इनर्जी प्रा.लि.ले ५० मेगावाट, पशुपति इनर्जी प्रा.लि.ले सुनसरीकै बर्जुमा ५० मेगावाट, हिमालय सोलार पावर प्रा.लि.ले संखुवासभाको सितलपाटीमा १० मेगावाट, आनन्द सोलार प्रा.लि.ले सुनसरीको बर्जुमा ५० मेगावाट र इको सन पावर डेभलपमेन्ट प्रा.लि.ले झापाको धुलाबारीमा १० मेगावाटको सौर्य विद्युत परियोजना निर्माण गर्ने स्वीकृत विद्युत प्राधिकरणबाट पाएको छ । कोशी प्रदेशमै यी परियोजना सम्पन्न भएपछि १७० मेघावाट थप विद्युत उत्पादन हुनेछ । जसले विद्युतको लागत मूल्य मात्र घटाउने छैन, बढ्दै गएको विद्युत मागलाई पुरा गर्न पनि सहयोग गर्नेछ । त्यसको लागि नेपाल विद्युत प्राधिकरणले गरेको पहल सकारात्मक छ ।