नेसनको राष्ट्रिय सम्मेलनबाट सरकारलाई नीगित सुझाव दिनेछौं : डा. यम बहादुर रोका

नेपाल न्यूरोसर्जन समाज(नेसन)ले ११औं राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा आज शुक्रबारदेखि सुरु हुँदैछ । नेसनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी दुई दिनसम्म संचालन हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । सम्मेलनमा देशभरीका न्यूरोसर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा नेपाल बाहिरका विशेषज्ञ गरेर करिब १५० बढीको सहभागी रहने बताइएको छ । पूर्वमा न्यूरोसर्जन समाजको राष्ट्रिय सम्मेलन पहिलो पटक भएको हो । न्यूरोसर्जरी सेवाको विस्तारसँगै आम जनतामा चेतना फैलाउने साथै त्यस क्षेत्रमा कार्यरत चिकित्सकहरुको मनोबल वृद्धि हुने अपेक्षा गरिएको छ । राष्ट्रिय सम्मेलनको विषयमा केन्द्रित रहेर नेपाल न्यूरोसर्जन समाजका नेसनका अध्यक्ष तथा वरिष्ठ न्यूरोसर्जन डा. यम बहादुर रोकासँग हाम्रोमतले गरेको संक्षिप्त कुराकानी :

न्यूरोसर्जन समाजको राष्ट्रिय सम्मेलनको तयारी कसरी भइरहेको छ ?

– पूर्वमा पहिलो पटक नेपाल न्यूरोसजर्न समाजको ११औं राष्ट्रिय सम्मेलन पहिलो पटक हुँदैछ । काठमाण्डौ बाहिर दोस्रो पटक हो । यसअघि पोखरलामा भएको थियो । पूर्वमा हुने राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । देशभरीका न्यूरो सर्जरी चिकित्सकहरु विराटनगर आइसकेको छन् । शुक्रबार सम्मेलनको औपचारिक रुपमा उद्घाटन भएपछि त्यसपछि घनिभूत रुपमा छलफल हुनेछ । शनिबारसम्म यो सम्मेलन चल्नेछ ।

देशभरीका न्यूरोसर्जनहरु भेला हुने यो राष्ट्रिय सम्मेलनमा के के हुन्छ ?

– नेपाल न्यूरोसर्जनको ११औं राष्ट्रिय सम्मेलन देशभरीका न्यूरोसर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा नेपाल बाहिरका विशेषज्ञ गरेर करिब १५० जनाभन्दा बढीको सहभागी रहन्छ । सम्मेलनमा एक यसभन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत हुन्छ । सम्मेलनमा विदेशबाट आएका चिकित्सकहरुको पनि सहभागिता रहन्छ । विज्ञ समूहबाट एक सय भन्दा बढी अनुसन्धान कार्यपत्र प्रस्तुत हुनेछ । उक्त कार्यपत्रमा छलफल पनि हुन्छ । विभिन्न विधाहरुमा सर्वश्रेष्ठ कार्यपत्र प्रस्तुति गर्नेलाई समाजले सम्मान र पुरस्कार पनि प्रदान गर्दछ । सम्मेलन सुरु हुनुभन्दा एक दिन अगाडि हामीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । बिहीबार गरिएको गोष्ठीमा विभिन्न तीन विधामा वर्कसप हुन्छ । डेटबढीमा चिकित्सकहरुले अभ्यास गर्दछन् । हामीले गरेको रिसर्चहरु पनि यहाँ प्रस्तुति हुन्छ ।

कार्यपत्रले कस्ता विषयहरु समेटिएको छ ?

– राष्ट्रिय सम्मेलनमा गर्ने कार्यपत्रहरु विशेषज्ञ विज्ञ चिकत्सकहरुले गर्दछन् । त्यसबाहेक विदेशबाट आएका १५ जना चिकित्सकहरुले पनि कार्यपत्र प्रस्तुत गर्दछन् । जस्तै भारत, बंङगलादेश, पाकिस्तान, श्रीलंकालगायत मुलुकबाट आएका चिकित्सकहरुले पनि कार्यपत्र प्रस्तुत गर्दछन् । न्यूरो सर्जरीमा केन्द्रीत भएर कार्यपत्रहरु प्रस्तुत हुनेछ ।

राष्ट्रिय सम्मेलनले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारका सुझावहरु पनि दिनुहुन्छ ?

–दुई दिनसम्म संचालन हुने सम्मेलनमा घनिभूत रुपमा छलफल पनि हुने गर्दछ । सम्मेलनको अन्तिममा बुँदागत रुपमा हामी सरकारलाई सुझाव पनि दिनेछौं । जसले गर्दा स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने राय हामी पेश गर्नेछौं । छलफलपछि त्यो बुँदागत रुपमा सरकारलाई सुझाव दिन्छौं । अहिले काठमाडांैमा सरकारले न्यूरो सर्जरी अस्पताल खोल्ने पनि भनेको छ । त्यसमा पनि हामी राय पेश गर्नेछौं ।

नेपालमा न्यूरो सर्जरी चिकित्सकको अवस्था कस्तो छ ?

–विगतको तुलनामा अहिले न्यूरो सर्जरी चिकित्सकको संख्या वृद्धि भएको छ । अहिले करिब १२० बढी न्यूरो सर्जरी चिकित्सकहरु रहेका छन् । नेपालको जनसंख्याको हिसाबले त कमी हो । तर, पनि अहिले भएको न्यूरो सर्जरी चिकित्सकहरुले बिरामीको उपचार गर्दै आएका छन् । अहिले भएका चिकित्सकले देशभरीमा सेवा प्रवाह गर्दै आएका छन् । दक्ष जनशक्ति पनि उत्पादन हुँदै आएका छन् । विगतमा न्यूरो सर्जरी सेवाको लागि छिमेकी मुलुक भारत जानुपर्ने अवस्था रहेको थियो । अहिले यो अवस्थाको अन्त्य भएको छ । यति मात्रै होइन । न्यूरो सर्जरी सेवाको लागि अहिले भारतदेखिका विरामी स्वेदशका अस्पतालहरुमा आउने गरेका छन् । उदाहरण नै छ म कार्यरत रहेको अस्पताल विराटनगरको न्यूरोमा हर्नुहोस न । विगतमा यहाँका विरामीहरु न्यूरो सर्जरीको उपचारको लागि भारतको सिलगुढी जानुपर्ने अवस्था रहेको छ । अहिले त्यो अवस्थाको अन्त्य मात्रै भएको छैन भारतका विरामी अहिले यहाँ उपचार गर्न आउने गरेका छन् ।

अन्त्यमा केही भन्नुहुन्छ ?

–पूर्वमा पहिलो पटक राष्ट्रिय सम्मेलन हुँदैछ । पूर्वको लागि यो गौरवको कुरा हो । १५ वर्ष अगाडि न्यूरो सर्जरी चिकित्सकको संख्या एकदमै न्यून रहेको थियो । अहिले देशभरिमा भएको न्यूरो सर्जरीको संख्या भन्दा २५ प्रतिशत पूर्वमा चिकित्सक रहेका छन् । यो गौरवको विषय हो । अहिले पूर्वमा मात्रै १५ देखि २० जना न्यूरो सर्जरी चिकित्सक रहेका छन् । यो बढ्ने क्रमम जारी छ ।

शुक्रबार, ३० कार्तिक, २०८१, बिहानको ०८:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर