
सम्पादकीय
हरेक वर्ष नेपालको पहाडी र हिमाली क्षेत्रमा फागन पूर्णिमाको दिन र तराईमा त्यसको भोलिपल्ट फागु अर्थात होली खेलिन्छ । होली रंगहरूको पर्व हो, जसले सामाजिक सद्भाव, मेलमिलाप र एकताको सन्देश दिन्छ । यो पर्व विशेषगरी नेपाल, भारत तथा अन्य दक्षिण एशियाली मुलुकहरूमा पनि हर्षोल्लासका साथ मनाइन्छ । होली हिन्दू समुदायको पर्व भएपनि अहिले सबै जातजाति, धर्म तथा समुदायका मानिसहरूले समान उत्साहका साथ यसलाई मनाउने गरेका छन् । होलीले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको छ । पौराणिक कथनअनुसार, हिरण्यकश्यपका छोरा भक्त प्रह्लादलाई मार्न उनकी बहिनी होलिकाले आगोमा बस्दा आफू नै भष्म भएको प्रसंग होली पर्वसँग जोडिएको छ ।
यस घटनाले सत्यको जीत र असत्यको पराजयको प्रतीकको रूपमा होली मनाउने परम्परा स्थापित गरेको छ । यस्तै, होली वसन्त ऋतुको आगमनको संकेत पनि हो ।पछिल्ला वर्षहरूमा भने होलीको उत्सव मनाउने तरिकामा केही विकृति देखिन थालेको छ । रंगको नाममा जबर्जस्ती लोला प्रहार गर्ने, इच्छाविपरीत कसैलाई रंग दल्ने, महिलाहरूमाथि दुव्र्यवहार गर्ने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने तथा झैझगडा गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले पर्वको मूल उद्देश्यलाई नै धमिलो पार्न थालेको छ । होलीले उल्लास, उमंग र सामाजिक सद्भावको भावना प्रवद्र्धन गर्नुपर्नेमा केही व्यक्तिहरूको अमर्यादित व्यवहारका कारण यस पर्वले नकारात्मक छवि बनाउँदै गएको छ । त्यसैले, हामी सबैले होलीलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउने प्रतिबद्धता गर्नुपर्छ । उत्सवलाई सबै उमेरका व्यक्तिहरूले सहज रूपमा मनाउन सक्ने वातावरण बनाउन आवश्यक छ । जबर्जस्ती रंग लगाउने, लोला हान्ने वा कसैलाई असहज बनाउने कार्य रोक्नुपर्छ । साथै, मदिरा सेवन गरेर सवारी साधन नचलाउने, सार्वजनिक स्थानहरूमा अनुशासन कायम गर्ने र एक–अर्काप्रति आदरभाव राख्ने कुरामा ध्यान दिनुपर्छ ।
होलीमा महिलाहरूको सहभागिता सहज बनाउन सुरक्षाको प्रत्याभूति गर्नुपर्छ । सुरक्षाकर्मीहरूको निगरानी तथा स्वयंसेवीहरूको सक्रियताले अमर्यादित क्रियाकलापलाई निरुत्साहित गर्न सकिन्छ । होली केवल रंगको पर्व मात्र नभई आत्मीयता, मेलमिलाप र पारस्परिक सद्भावको पर्व हो । यसलाई मर्यादित रूपमा मनाउँदा मात्र यसको वास्तविक उद्देश्य पूरा हुनेछ । पर्वलाई उल्लासमय बनाउन मर्यादित व्यवहार अपनाऔं, असभ्य क्रियाकलापलाई निरुत्साहित गरौं । होलीको सही महत्व बुझ्दै सौहार्दपूर्ण वातावरणमा यस पर्वको आनन्द उठाऔं ।