लोड हुँदैछ...

मेनु

नेपालमा पनि विश्व मौसम दिवस

नेपालमा पनि विश्व मौसम दिवस

काठमाडौँ । प्रकृतिमा बढ्दो अनिश्चितता र जलवायु परिवर्तनको चुनौतीका बीच नेपालले यस वर्ष ‘आजको अवलोकन, भोलिको सुरक्षा’भन्ने दूरगामी नाराका साथ विश्व जल तथा मौसम दिवस मनाइरहेको छ।

हरेक वर्ष मार्च २३ मा मनाइने यो दिवसले यस पटक केवल झरी वा घामको जानकारी दिने परम्परागत शैलीभन्दा माथि उठेर ‘अवलोकन’ लाई ‘सुरक्षा’ सँग जोडेको छ। जल तथा मौसम विज्ञान विभागले यस अवसरमा मौसमसम्बन्धी सूक्ष्म अध्ययन र पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउँदै नागरिकको जीवन रक्षा गर्ने उद्देश्यलाई प्राथमिकतामा राखेको छ।

विश्व मौसम विज्ञान सङ्गठनस्थापना भएको ७६ वर्ष पुग्दै गर्दा नेपालमा पनि मौसम विज्ञानलाई केवल प्राविधिक तथ्याङ्कमा मात्र सीमित नराखी यसलाई कृषि, जलस्रोत र विपद् व्यवस्थापनको मेरुदण्डका रूपमा हेर्न थालिएको छ।

विभागका मौसमविद् सुजन सुवेदीका अनुसार, आजको मुख्य आवश्यकता भनेको मौसमसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र पूर्वानुमानलाई विश्वसनीय बनाउनु हो।‘हामीले आज गर्ने मौसमको सही अवलोकनले नै भोलिको सम्भावित विपद्बाट जोगिने आधार तय गर्छ,’ सुवेदीले भने, ‘यस वर्ष हामीले जलवायु जोखिम न्यूनीकरणका व्यावहारिक उपाय र पूर्वानुमान प्रणालीको महत्वबारे गम्भीर छलफल गर्दैछौँ।

सन् १९६१ देखि मनाउन थालिएको यो दिवसले पछिल्लो समय जलवायु परिवर्तनका कारण निम्तिएका अनपेक्षित बाढी, पहिरो र खडेरी जस्ता समस्यासँग जुध्न विश्वव्यापी ऐक्यबद्धताको खोजी गरिरहेको छ। नेपाल जस्तो भौगोलिक संवेदनशीलता भएको मुलुकमा त मौसमको सही जानकारी हुनु भनेको धनजनको क्षति कम गर्ने अनिवार्य सर्त नै बनेको छ।

मौसम दिवसको अवसरमा आज आयोजना हुने विभिन्न कार्यक्रमहरूमा मौसम तथा जलवायु सेवाले मानव जीवनको गुणस्तर सुधार्न, कृषि उत्पादन बढाउन र जलस्रोतको दिगो उपयोग गर्न कसरी योगदान पुर्‍याउँछ भन्ने विषयमा बहस हुनेछ।

सरकारले यस दिवसमार्फत आम नागरिकलाई मौसमसम्बन्धी सूचनाप्रति सजग रहन र सरकारी पूर्वानुमानलाई पछ्याउँदै आफ्ना दैनिक क्रियाकलापहरू सुरक्षित बनाउन आह्वान गरेको छ। विश्वभर फैलिएको यो सचेतना अभियानले अन्ततः जलवायु जोखिमसँग जुध्न सक्ने ुउत्थानशील समाजु निर्माणमा मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।