विराटनगर । निर्वाचन भएको पाँच वर्षे कार्यकाल पुरा नहुँदै आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनले विगतका परिणाममा ठूलो उलटफेर ल्याइदिने संकेत गरेको छ । विभिन्न सर्भेक्षण, भेटघाट, कुराकानी र मतदाताको रुझान हेर्दा सजिलै अनुमान गर्न सकिन्छ कि विगतमा काँग्रेस, एमालेको दबदबा रहने कोशी प्रदेशको झापा, मोरङ, सुनसरी मात्रै होइन पहाडि इलाकामा पनि अप्रत्याशित नतिजा आउनसक्छ ।
अबका केही घण्टामा खोलिने मतपेटिका र त्यसमा रहेको मतको गणनाले हाम्रा अनुमान यथार्थ हुनपनि सक्छ र नहुनपनि सक्छ । तर, यथार्थको नजिक पुगेर हामीले अनुमान गर्ने कोशिष गरेका छौं । राजनीतिक विश्लेषक प्रा. कृष्ण पोखरेलले विगतका गढ यस पटकको निर्वाचनले तोड्ने दाबी गरे । ‘यस पटकको निर्वाचनले विगतका गढ तोडिन्छन्,’ पोखरेलले भने, ‘हामीले हेर्दा नयाँ भनिएका रास्वपा र श्रम संस्कृति पार्टीले नै कोशीमा परम्परागत दललाई समस्यामा पारेका छन् ।’
२०७९ सालको निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेले १३ सिटमा विजयी हासिल गर्दै कोशीमा ठूलो दल बनेको थियो । त्यसबेला एमालेले ताप्लेजुङ, पाँचथरसहित इलामको दुईवटै निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्यो । झापामा २, ४ र ५ नम्बर क्षेत्रमा विजयी भयो । मोरङमा २ नम्बर निर्वाचन क्षेत्र, सुनसरीमा २ र ३ नम्बर निर्वाचन क्षेत्रमा विजयी भयो । यस्तै धनकुटा, सोलुखुम्बु र उदयपुरको २ नम्बर निर्वाचन क्षेत्रमा पनि एमालेका उम्मेद्वार विजयी भए । एमालेले समग्र प्रदेशमा १३ वटा निर्वाचन क्षेत्रमा विजयी बनेको थियो ।
यस्तै प्रमुख प्रतिस्पर्धी पार्टी नेपाली काँग्रेसले झापाको १ नम्बर, संखुवासभा, तेह्रथुम, मोरङको १, ३ र ६ नम्बर क्षेत्र, सुनसरीको ४, उदयपुरको १ नम्बर क्षेत्र र ओखलढुंगामा विजयी हुँदै ९ वटा निर्वाचन क्षेत्र सुरक्षित गर्यो ।
तेस्रो स्थानमा रहेको नेकपाले भने कोशी प्रदेशमा जम्मा ३ सिट सुरक्षित गरेको थियो । जसमा मोरङ ४, भोजपुर र खोटाङमा जित निकालेको थियो । त्यसबाहेक मोरङको ५ नम्बर निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेद्वार योगी मण्डलले जिते भने सुनसरीको १ बाट जसपाबाट अशोक राई तथा झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनले निर्वाचन जितेका थिए ।
संख्यात्मक रुपले एमालेले यस पटक झापाका सबैजसो सिट गुमाउन सक्छ । एमालेले इलामको १, पाँचथर, सोलुखुम्बु, सुनसरीका २ र ३ नम्बर निर्वाचन क्षेत्रै गुमाउन सक्छ । यस्तै काँग्रेसले विगतमा जितेको संखुवासभा र मोरङको तीनवटै ३ र ६ नम्बर निर्वाचन क्षेत्र, उदयपुरको १ र ओखलढुंगा गुमाउन सक्ने स्रोतहरुको अनुमान छ ।
उता, तत्कालिन नेकपा (माओवादी)सहित धेरैवटा पार्टी मिलेर बनेको हालको नेपाली कम्युनिष्ट पार्टीले संख्यामा विगतको ३ सिट जोगाउने कसरत गरेपनि त्यही ठाउँहरु नजोगिन सक्छन् । नेकपाले विगतमा नजितेका केही क्षेत्रहरु जित्न सक्छ । यस्तै राप्रपाले विगतदेखि नै आफ्नो वर्चश्व कायम गरेको झापा क्षेत्र नम्बर ३ यस पटक गुमानसक्ने अनुमान गरिएको छ ।
विशेषगरी पहाडि तथा तराई–मधेशको आदिवासी (राई, लिम्बू बसोबास) क्षेत्रमा मत जित्ने अवस्था नभएपनि हर्क साम्पाङको श्रम संस्कृति पार्टीले ल्याउने मतले काँग्रेस, एमाले, रास्वपा र नेकपाले जुनसुकै क्षेत्रबाट अप्रत्याशित जित निकाल्न सक्छन् । यस्तै तराई मधेशमा रास्वपाले नजित्ने क्षेत्रमा उसले ल्याउने मतले अन्य पार्टीहरुको अनुमान फेल खाँदै अप्रत्याशिल नजिताहरु आउन सक्छन् ।
मतदाताको रुझान हेर्दा यस पटक रास्वपाले भने समानुपातिक तर्फ सबैभन्दा ठूलो दलको हैसियत कायम गर्ने लगभग निश्चित जस्तै छ । धेरैजसो मतदाता प्रत्यक्षमा चिनेजानेका सहयोगी उम्मेद्वारलाई भोट हालेपनि समानुपातिकमा रास्वपालाई दिने बताउँछन् । त्यस्तो कुरा गर्नेहरुमा विगतमा राजनीतिक पार्टीकै माथिल्लो ओहोदामा बसेर काम गरेकाहरु पनि छन् ।
कोशीमा प्रत्यक्षमा पनि काँग्रेस–एमाले, र नेकपालाई जित्दै पहिलो पार्टी रास्वपानै बन्न सक्ने देखिन्छ । दोस्रोमा काँग्रेस र तेस्रोमा एमाले र नेकपाले प्रतिस्पर्धा गर्न सक्छन् । उता, श्रम संस्कृति पार्टीले उल्लेख्य समानुपातिक मत पाएपनि प्रत्यक्षमा एक सिट निकाल्न मुस्किल पर्नसक्छ । अरु राप्रपा, उज्यालो नेपाल पार्टी, राष्ट्रिय उर्जाशिल पार्टी, मंगोल नेशनल अर्गनाइजेसन लगायतले समानुपातिकमा केही मत ल्याए पनि प्रत्यक्षमा सिट सुरक्षित गर्न मुस्किल पर्ने देखिन्छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।