लोड हुँदैछ...

मेनु

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौँ । सरकारले आगामी निर्वाचनको सुरक्षामा खटिने क्रममा घाइते हुने सुरक्षाकर्मीहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिए ।

गृहमन्त्री अर्यालका अनुसार निर्वाचनको दौरान घाइते हुने नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको उपचार सरकारले निःशुल्क गर्ने निर्णय भएको छ । ‘निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न अहोरात्र खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारले यो निर्णय गरेको हो,’ प्रवक्ता अर्यालले भने ।

यसैगरी, बैठकले निर्वाचन सुरक्षाका क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा निजको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय समेत गरेको छ । कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउने सुरक्षाकर्मीका आश्रित परिवारलाई राहत स्वरूप निश्चित रकम प्रदान गरिने सरकारले जनाएको छ ।

सरकारको यो निर्णयसँगै निर्वाचन सुरक्षामा परिचालन हुने सुरक्षाकर्मी र उनीहरूका परिवारलाई थप सुरक्षाको प्रत्याभूति हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।