विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै विराटनगरमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पुगेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा वृद्धि गरेपछि नयाँ मूल्य कायम भएको हो ।
नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढेको छ । निगमले देशभरका विभिन्न स्थानलाई वर्गीकरण गरी फरक–फरक मूल्य तोकेको छ । जसअन्तर्गत विराटनगरसहित चारआली, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
यही मूल्य सूचीअनुसार काठमाडौँ, पोखरा र दिपायलमा भने पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ पुगेको छ भने सुर्खेत र दाङमा प्रतिलिटर १५५ रुपैयाँ तय गरिएको छ । यसैगरी, मट्टीतेलको मूल्य देशभर प्रतिलिटर १४२ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको उतारचढाव र इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ । नयाँ मूल्य आजैदेखि देशभरका पेट्रोल पम्पहरूमा लागू भइसकेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।