काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागको मौसममा सामान्य बदलाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्ने सम्भावना छ। बाँकी प्रदेशका हिमाली र पहाडी भागमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा भने आज मध्याह्नसम्म कुहिरो लाग्ने र त्यसपछि मौसम सफा रहने देखिएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। साथै, यी तीन प्रदेशका पहाडी भूभाग र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको छ।
आज राति तराईका केही क्षेत्रमा तुँवालो लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। पहाडी र हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातका कारण हुनसक्ने चिसोबाट बच्न महाशाखाले सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।